प्रधान कार्यालयले हटाए पनि रमेश खरेलले छाडेनन् काठमाण्डु परिसर

काठमाण्डु टुडे २०७१ जेठ १२ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– प्रहरी प्रधान कार्यालयले एसएसपी रमेश खरेललाई महानगरीय प्रहरी परिसर काठमाण्डुको प्रमुखबाट हटाएको छ ।
ramesh Kharelप्रधान कार्यालयले उनलाई सोमबार मुख्यालय तानेको छ । उनको स्थानमा केन्द्रीय अनुसन्धानब्युरो (सिआईबी) का निमित्त प्रमुख एसएसपी उत्त्तमकुमार कार्कीलाई ल्याइएको छ ।
उच्च प्रहरी स्रोतका अनुसार सोमबार अपरान्ह मुख्यालयले खरेललाई काठमाण्डु प्रहरी प्रमुखको जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो । प्रहरी मुख्यालयको सिफारिसमा गृहमन्त्रालयले खरेललाई मुख्यालय सरुवा गरेको हो ।

यद्यपि खरेल यो समाचार तयार पार्दासम्म काठमाण्डु परिसर हनुमानढोकामै छन् । मुख्यालय तानिएको बारे औपचारिक पत्र नआएका कारण खरेलले परिसर नछाडेको त्यहाँ कार्यरत एक प्रहरी अधिकारीले काठमाण्डु टुडेलाई बताए ।

खरेलले संगठनको चेन अफ कमाण्ड र नीतिविपरित सार्वजनिक कार्यक्रममा डिआईजीहरुसविरुद्ध अभिव्यक्ति दिएको आरोपमा काठमाण्डु प्रमुखबाट हटाइएको हो । खरेलले केही दिनअघि राजधानीमा भएको एक सार्वजानिक कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई चुनौती दिँदै प्रहरीका डिआईजीहरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिव्यक्ति दिएका थिए ।

उक्त विवादास्पद अभिव्यक्तिका बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले आइतबार मात्र डिआईजी विज्ञानराज शर्माको संयोजकत्वमा एक छानबिन कार्यदल गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us