ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १२ गते १३:०८ मा प्रकाशित

नुवाकोट, १२ जेठ – नुवाकोटको ओखरपौवाको डम्पिङ साइटमा फोहर बोकेर आएको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

काठमाण्डुबाट फोहर बोकेर ओखरपौवा गाविस–४ ल्यान्डफिल्ड साइटमा फोहर फाल्न आएको बा २ ख ५४५५ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँकी ३० वर्षीया दुर्गा सेढाईंको घटनास्थलमै मृत्यु भएको हो ।

ल्यान्डफिल्ड साइटमा फोहर बोकेर गाडी आएपछि फोहर सङ्कलन गर्न झुम्मिएकामध्ये सेढाईंलाई गाडीले ठक्कर दिएको थियो ।

स्थानीयवासीले एकपटक ठक्कर दिएपछि घाइते भएकी सेढाईंलाई चालकले गाडी ब्याक गरेर किचेर मारेको बताएका छन् ।

मृतकका आफन्तले चालकलाई कडा कारवाहीसहित मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै शव उठाउन नदिएको स्थानीय समाजसेवी सीताराम घिमिरेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us