
काठमाण्डु, १२ जेठ– एकीकृत माओवादी केन्द्रीय पदाधिकारी चयनका लागि सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ ।
समय अभावका कारण निर्वाचन मंगलबारका लागि सारिएको निर्वाचन समिति सदस्य रामनारायण बिडारीले काठमाण्डु टुडेलाई जानकारी दिए ।उनले पदाधिकारीका लागि मंगलबार बिहान ११ बजे निार्वचन हुने बताए । यसअघि सोमबार साँझ ५ बजेबाट मतदान सुरु हुने बताइएको थियो ।
अध्यक्षबाहेक दुई उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ । निर्वाचनमा स्थायी समितिका सबै १६ सदस्य उममेदवार हुनेछन् । सहमतिमा पदाधिकारी चयनका लागि निर्वाचन सारिएको स्रोतले जनाएको छ ।
निर्वाचन भएको अवस्थामा वर्षमान पुन महासचिव बन्ने सम्भावना बढेपछि निर्वाचन स्थगन गरिएको दाबी स्रोतको छ । महासचिवमा पुन र कृष्णबहादुर महरा आकांक्षी छन् । स्थायी समितिको निर्वाचनमा पुनले महराभन्दा बढी मत ल्याएका थिए ।
सोमबार भएको निर्वाचनमा पुनले ९४ र महराले ९० मत पाए । सोही अनुपातमा मत आउँदा महरा महासचिवमा पराजित हुने देखिए । ‘निर्वाचनमार्फत जाँदा महासचिवमा वर्षमानजीको पल्लाभारी हुने देखियो’, स्याथी समितिका एक नवनिर्वाचित सदस्यले भने, ‘उहाँलाई रोकेर महरालाई ल्याउन यसो भएको हो ।’
उनका अनुसार पुनलाई सचिवमा राखेर महरालाई महासचिवमा ल्याउने मनस्थितिमा शीर्ष नेतृत्व छ । महरा पक्षले पुनले आफू महासचिवमा आउन जातीय र क्षेत्रीय लविङ गरेको आरोप लगाएको छ ।
स्रोतले बताएअनुसार उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिवमा महरा र सचिवहरुमा पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेललाई ल्याउने तयारी छ । पुन संस्थापन, रायमाझी बाबुराम भट्टराई र पोखरेल नारायणकाजी श्रेष्ठ निकट हुन् ।
यस्तै कोषाध्यक्षमा हरिबोल गजुरेल र शक्ति बस्नेतको दाबी छ ।