
काठमाण्डु, १२ जेठ– एकीकृत माओवादीले निर्वाचनबाट १६ सदस्यीय स्थायी समिति चयन गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार भएको निर्वाचनले स्थायी समिति चयन गरेको हो । निर्वाचनमा कूल १ सय १६ मत खसेकामा १ सय १० मत सदर भएको थियो । १६ सदस्यीय स्थायी समितिका लागि पोलिट्ब्युरोका सबै ५१ जना उम्मेदवार थिए ।
स्थायी समितिमा पनि सबैभन्दा बढी मत पूर्वमहासचिव पोष्टबहादुर बोगटीले ल्याए । उनले १ सय ३ मत पाए । बोगटीले पोलिट्ब्युरो सदस्यमा पनि आइतबार सर्वाधिक १ सय मत ल्याएका थिए । बोगटीपछि दोश्रोमा नेता बाबुराम भट्टराईले ९९ मत ल्याएका छन् ।
सबैभन्दा कम गोपाल किराँतीले ६२ ल्याए । ६० मत ल्याएका रामचन्द्र झा १७ औं नम्बरमा परेर स्थायी समितिमा चुनिनबाट बञ्चित भए । यस्तै स्थायी समितिमा पूर्वस्थायी समितिमा रहेका प्रवक्ता दीनानाथ शर्मा र लीलामणि पोरखेल पराजित भए । पूरानो पोलिट्ब्युरोमा रहेका नेता भट्टराई पत्नी हिसिला यमी, एमालेबाट आएकी उर्मिला अर्याल पराजित भए ।
यो सँगै कोषाध्यक्षमा आउने यमीको बाटो बन्द भएको छ । अर्का नेता लेखराज भट्ट आफूलाई हराउने षड्यन्त्र भएको भन्दै निर्वाचनअघि नै प्रक्रिया बहिस्कार गरेर हिंडे । स्थायी समितिमा संस्थापनका ११, भट्टराई पक्षका उनीसहित टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल तथा नारायणकाजी श्रेष्ठ पक्षका श्रेष्ठ र गिरिराजमणि पोखरेल आएका छन् । यद्यपि भट्टराई पक्षले निर्वाचन प्रक्रिया बहिस्कार गरेको थियो ।
स्थायी समितिमा निर्वाचित नेताहरु (प्राप्त मतसहित)
पोष्टबहादुर बोगटी– १०३
बाबुराम भट्टराई – ९९
बर्षमान पुन – ९४
जनार्दन शर्मा–९२
कृष्णबहादुर महरा– ९०
हरिबोल गजुरेल–८८
नारायणकाजी श्रेष्ठ – ८६
अग्निप्रसाद सापकोटा– ८४
शक्ति बस्नेत–८२
गिरिराजमणि पोखरेल– ७८
लोकेन्द्र विष्टमगर–७५
टोपबहादुर रायमाझी – ७०
नन्दबहादुर पुन ‘पासाङ’ –६७
चक्रपाणि खनाल–६६
देवेन्द्र पौडेल–६५
गोपाल किराती–६२