सत्र वर्षदेखि चिकित्सकविहीन प्राथमिक स्वास्थ्य केन्द्र

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ६:३३ मा प्रकाशित

सुर्खेत, १२ जेठ – जिल्लाको सालकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र १७ वर्षदेखि चिकित्सकविहीन अवस्थामा रहेको छ ।

पश्चिम सुर्खेतका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले आर्थिक वर्ष २०५३÷०५४ मा स्थापना भएको उक्त स्वास्थ्य केन्द्रमा अहिलेसम्म एकजना चिकित्सक पनि पुगेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटकपटक फरकफरक चिकित्सकलाई उक्त प्राथमिक स्रोत केन्द्रमा पदस्थापना गरे पनि उनीहरू त्यहाँ नपुगेरै अन्य स्थानमा सरुवा हुने गरेको वरिष्ठ अहेव डिल्लीप्रसाद सापकोटाले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक चिकित्सकको दरबन्दी रहे पनि अहिले सापकोटाकै नेतृत्वमा स्वास्थ्य केन्द्र चलेको छ । अन्य तीन अहेव, एक स्टाफ नर्स, तीन नर्स, एक ल्याब टेक्निसियन र दुईजना कार्यालय सहयोगी रहेका छन् ।

यो स्वास्थ्य केन्द्र विकट गाउँमा भएकाले चिकित्सकहरू राजनीतिक पावरका आधारमा आउन नमान्ने गरेको स्वास्थ्य केन्द्रको भनाइ छ । लामो समयदेखि स्वास्थ्य सेवा उपलब्ध हुने आशा राखेको पश्चिम सुर्खेतवासी चिकित्सक नभएपछि बिरामी हुँदा सदरमुकाम वीरेन्द्रनगर नै आउने गरेका छन् ।

पछिल्लो समय पश्चिम सुर्खेतका नागरिकलाई स्वास्थ्य सेवामा समस्या भएको भन्दै स्थानीयवासीले सोही स्वास्थ्य केन्द्रलाई सामुदायिक अस्पताल बनाउन पहल पनि गरेका छन् । चिकित्सक नहुँदा इमरजेन्सी अवस्थामा बिरामीलाई सदरमुकाम वीरेन्द्रनगर ल्याउन धेरै समय लाग्ने भएकाले गाउँमै अस्पताल निर्माणको अभियानमा स्थानीयवासी जुटेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us