प्रधानमन्त्री कोइराला दिल्लीमा

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ६:१९ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– प्रधानमन्त्री सुशील कोइराला आज दक्षिण छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली गएका छन् ।
sushilकोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै एयर इण्डियाको जहाजबाट बिहान साढे ९ बजे त्यसतर्फ गएका हुन् ।

टोलीमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य एवम् सभासदसमेत रहेका पारिवारिक सदस्यद्वय सशांक कोइराला र सुजाता कोइराला तथा प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. दिनेश भट्टराईलगायत छन् ।

प्रधानमन्त्रीलाई बिदाई गर्न अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह, सभामुख सुवास नेम्वाङ, सुरक्षा निकायका प्रमुख, तथा सरकारका उच्च पदाधिकारी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा बहुमत ल्याएको भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीमा अघि सारिएका मोदीले कोइरालासहित सार्क क्षेत्रका सरकार प्रमुखलाई आफ्नो सपथग्रहण समारोहमा बोलाएका हुन् ।

मोदीले भारतीय राष्ट्रपति भवनमा आज साँझ शपथ लिने कार्यक्रम छ । भारतमा रहँदा कोइरालाले उच्च राजनीतिक भेटवार्तासमेत गर्नेछन् । कोइरालाले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदी, सत्तारुढ भाजपा अध्यक्ष राजनाथ सिंह, निवर्तमान प्रधानमन्त्री मनमोहन सिंह, कँग्रेस आई अध्यक्ष सोनिया गान्धीलगायतसँग भेट्ने कार्यक्रम तय भएको छ ।

ती भेटहरुमा कोइरालाले द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी गर्ने उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइराला आगामी जेठ १४ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा स्वागत 

भारतका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालय र नेपाली दूतावासका वरिष्ठ कर्मचारीले स्वागत गरेका छन् ।

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन । सोमबार बिहान नयाँदिल्ली पुगेका प्रधानमन्त्री कोइरालालाई भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र शिष्टाचार महापाल रुचिरा कम्बोज, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, नयाँदिल्लीस्थित कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत कर्मचारीले स्वागत गरेका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोह आज साँझ ६ बजे तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us