संविधानसभा उपनिर्वाचनमा ८१ जनाको उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७१ जेठ ११ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, ११ जेठ – निर्वाचन आयोगले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता सम्पन्न भएको जनाएको छ ।

आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार ती निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८१ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

उम्मेद्वारी दर्ता गराउनेमा राजनीतिक दलका ६४ जना र स्वतन्त्र १७ रहेको र तीमध्ये महिला १० र पुरुष ७१ छन् ।

सबैभन्दा बढी काठमाडौँ क्षेत्र नं. २ मा राजनीतिक दलका २३ र स्वतन्त्र १४ गरी ३७ जना उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसमा पुरुष ३४ र महिला तीन रहेका छन् ।

चितवन क्षेत्र नं. ४ मा राजनीतिक दल ११ र स्वतन्त्र एक गरी जम्मा १२ ले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा पुरुष नौ र महिला तीन छन् ।

यसैगरी, बर्दिया क्षेत्र नं. १ मा राजनीतिक दल १२ र स्वतन्त्र एक गरी जम्मा १३ ले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा पुरुष १२, महिला एक रहेका छन् ।

कैलाली जिल्लाको क्षेत्र नं. ६ मा राजनीतिक दल १८ र स्वतन्त्र एक गरी जम्मा १९ ले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा पुरुष १६, महिला तीन छन् ।

आयोगको कार्यतालिका अनुसार आज चारवटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी मनोनयन गर्ने कार्यक्रम रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us