भारतको दिल्लीबाट नेपाली बालकको उद्धार

काठमाण्डु टुडे २०७१ जेठ ११ गते १२:५० मा प्रकाशित

कैलाली, ११ जेठ – भारतको नयाँ दिल्ली रेल्वे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका चार बालकलाई कैलालीको एक संस्थाले आइतबार उद्धार गरेको छ ।

कैलालीको गेटा–४ श्रीलङ्का स्थायी घर भएका वर्ष १३ का सन्तोष विक, १४ वर्षका दीपक जोरा, १४ वर्षका पवन विक र १४ वर्षकै अर्जुन कामीलाई शान्ति पुनःस्थापना गृहले भारतमा कार्यरत प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा उद्धार गरेको हो ।

उद्धार गरिएका बालकलाई आज धनगढी ल्याई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाएको पुनःस्थापना गृहका संयोजक वासुदेव भट्टराईले जानकारी दिए ।

गत वैशाख ५ गते गेटास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा भारत घुम्न जाने सल्लाह मुताबिक आफूहरु घरबाट निस्किएको १३ वर्षका सन्तोष विकले बताए ।

विद्यालय गएका छोराहरु हप्तौं बितिसक्दा पनि घर नफर्किएपछि बालकका परिवारले जिल्ला प्रहरी कार्यालय कैलालीलगायतका विभिन्न सङ्घ संस्थामा उजुरी गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us