बन्दुकधारीद्वारा आठ प्रहरीको हत्या

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ११:०५ मा प्रकाशित

पाकिस्तान, ११ जेठ – दक्षिण– पश्चिम पाकिस्तानमा अवस्थित एक स्थानीय सुरक्षा जाँचचौकीमा बन्दुकधारीको एक समूहले गरेको आक्रमणमा कम्तीमा आठ प्रहरीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

सो घटना वलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटादेखि ३५० किलोमिटर दक्षिण–पश्चिम खुदार जिल्लाको वादा क्षेत्रमा भएको जनाइएको छ ।

बुधबार बिहान सवेरै सुरक्षा जाँचचौकीमा बन्दुकधारीले आक्रमणमा आठ आदिवासी प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय गृह सचिव अक्वर हुसेन डुरानीले एएफपी समाचार समितिलाई बताए ।

यस आक्रमणमा अर्का एक प्रहरी अधिकारी घाइते भएका छन् । यस आक्रमण र हताहतीको एक स्थानीय गुप्तचर विभागशका अधिकारीले समेत पुष्टी गरेका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

इरान र अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने वलुचिस्तान प्रान्तमा ठूलो तर कम विकसित प्रान्तको रुपमा रहेको छ ।

त्यस प्रान्तमा पृथकतावादी विद्रोही र इस्लामिस्ट आतङ्ककारीहरूले मच्चाउँदै आएका हिंसा र हत्यामा हजारौं व्यक्तिको मृत्यु भईसकेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us