काठमाण्डु, ११ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्भवती तथा सुत्केरी महिलाको औषधिमा आथिर्क अनियमितता गरेको अभियोगमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साहसहित जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
पक्राउ पर्ने अन्यमा साहसहित स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा. मिङमारग्याल्जेन शेर्पा, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख डा. नरेशप्रताप केसी, सोही शाखका तत्कालिन वरिष्ठ निर्देशक कृष्णबहादुर चन्द र महाशाखा कै खरिद ईकाइमा कार्यरत पवन कोइराला, जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव र जनस्वास्थ्य निरीक्षक हेमलाल ज्ञवाली छन् । अख्तियारले औषधि आपूर्तिकर्ता संजय गुप्ता र फर्म धनी विद्या सुवेदीव्रिद्ध पनि विशेषमा मुद्धा दायर गरेको छ । मुद्धा दायर गरिएका १२ जना व्यक्तिहरुबाट कुल ७ करोड २७ लाख १३ हजार ९ सय ८ रपैयाँ बिगो भराउन माग दाबी गरिएको छ ।
गर्भवती र सुत्केरीको औषधिमा अनियमिता
पक्राउ परेकाहरुले दुर्गम पहाडी जिल्लाका गर्भवती महिलालाई लक्षित गरी सुत्केरी हुने अवस्थामा अत्याधिक रक्तश्राबबाट हुने मातृ मृत्युबाट जोगाउन नि:शुल्क वितरण गर्ने प्रयोजनको औषधिमा अनियमितता गरेको अख्तियारको भनाइ छ ।
मिसोप्रस्टोल २०० एमजी नामको सो औषधि अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वन गरी खरिख गर्ने क्रममा सन् २०११ देखि २०१५ सम्ममा अत्यधिक अनुमानित लागत मूल्य कायम गरी आवश्यकताभन्दा बढी संख्यामा खरिद गरिएको, औषधिहरु गुणस्तरहीन भई सेवन गर्न नमिल्ने भनी परीक्षण प्रतिवेदन प्राप्त हुँदा समेत आपूर्तिकर्तालाई कुनै कारबाही नगरी उल्टै भुक्तानी दिई करोडौँ मूल्य पर्ने गुणस्तरहीन औषधि स्टोरमा जम्मा गरी राखी सरकारी सम्पत्तितको दुरुपयोग तथा हानी नोक्सानी गरेको उजुरीमा उल्लेख छ ।