प्रस्तावित न्यायाधीश चोलेन्द्रशमशेरसँग सुनुवाई जारी

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ९:१८ मा प्रकाशित

काठमाण्डु, ११ जेठ – संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई आज पनि जारी छ ।
समितिको कार्यालय सिंहदरबारमा जारी बैठकमा सभासदहरुले प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्र र देवेन्द्र गोपाल गोपाल श्रेष्ठसँग सुनुवाई भैसकेको छ । अहिले चोलेन्द्रशमशेर राणासँग सुनुवाई भैरहेको छ ।

प्रस्तावित ८ न्यायाधीशमध्ये समितिले २ दिनमा ४ जनाको सुनुवाई गरेको छ । समितिले शनिबार न्यायाधीश दिपकराज जोशी र गोविन्दकुमार उपाध्यायको सुनुवाई गरेको थियो । न्यायाधीशहरुले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सभासदहरु आक्रोशित बनेका थिए ।

यसअघि पहिलो दिन शुक्रबार वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीको सुनुवाई भएको थियो । गत वैशाख ९ गते सिफारिस गरिएपनि सुनुवाई समितिमा रहेका सभासदहरुबीच विवाद हुँदा ढिला सुनुवाई सुरु भएको हो ।

सिफारिस भएको ३५ दिनभित्र सुनुवाई सक्नुपर्ने व्यवस्था संसद नियमावलीमा छ । मंगलबार ३५ दिने हदम्याद पुग्ने भएपछि समिति हतार—हतार सुनुवाईमा व्यस्त भएको छ । न्याय परिषद्ले सर्वोच्च अदालतमा आठ जना स्थायी न्यायाधीशमा वैद्ययनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल गोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्माको नाम प्रस्तावित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us