पानी सुकाएपछि दुर्लभ जलचर मर्न थाले

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ७:०० मा प्रकाशित

कपिलवस्तु, ११ जेठ – विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालको पानी सुकाइएपछि त्यहाँ रहेका दुर्लभ जलचर धमाधम मर्न थालेका छन् ।

पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय कपिलवस्तुले तालको पश्चिमतर्फको फाटक मर्मत गर्न भन्दै पानी सुकाएपछि तालका जलचरको अस्तित्व सङ्कटमा परेको हो । ताल सुकाउँदा त्यहाँ रहेको जैविक विविधता नष्ट हुन गई ताल सिमसारबाट हट्न सक्ने बताउँदै जगदीशपुर जलायशय बहुसरोकार मञ्चले चिन्ता व्यक्त गरेको छ ।

पानी सुकाउँदा तालमा रहेका संरक्षित एवम् विभिन्न लोपोन्मुख प्रजातिका चराचुरुङ्गी, कछुवा, सरिसृप तथा माछा धमाधम मर्न थालेका छन् ।

पानी सुक्नासाथ केही स्थानीयवासीले तालभित्र पसी माछा मार्नसमेत सुरु गरेको हुँदा तालको जैविक विविधता नष्ट हुने र सिमसार सङ्कटमा पर्ने स्थानीयवासीहरु बताउछन् ।
डिभिजन सिँचाइ कार्यालयले उक्त ताल सिँचाइको प्रयोजनका लागि निर्माण गरिएको हँुदा प्रमुख प्राथमिकता जलचरको संरक्षण नहुने इन्जिनियर रामकृष्ण घोरासैनीले बताए । “तालको मूल नहरकोे फाटक जीर्ण भएको हँुदा मर्मत अनिवार्य भएकाले ताल सुकाउनुपरेको हो”उनले भने ।

जगदीशपुर ताल संरक्षण समिति, जगदीशपुर ताल बहुसरोकार मञ्चलगायत संस्थाले तालको जैविक विविधता कायम राख्न तत्काल फाटक बन्द गरी तालमा पानी भर्नुपर्ने माग राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us