अख्तियारले बयानका लागि कर्मचारी बोलाएपछि कामकाज प्रभावित

काठमाण्डु टुडे २०७१ जेठ ११ गते २:०७ मा प्रकाशित

गौशाला, ११ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि कर्मचारीलाई काठमाण्डु बोलाउन थालेपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीको कामकाज प्रभावित भएको छ ।

जिल्लामा रहेका ८४ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला शिक्षा अधिकारी, कार्यक्रम अधिकृत, लेखापाल, स्रोत व्यक्ति र इन्जिनियरलाई बयानका लागि काठमाण्डु बोलाएपछि कामकाज प्रभावित भएको हो ।
महिनामा तीनपटक काठमाण्डु बोलाउन थालेपछि कार्यालयमा कर्मचारीको उपस्थिति नहुँदा विद्यालयहरूमा निकासा हुने छात्रवृत्ति, पाठयपुस्तकको रकमसमेत नियमित रूपमा पठाउन नसकिएको जिल्ला शिक्षा अधिकारी रणदीप बस्नेतले बताए ।

कर्मचारी अभावका कारण कार्यालयका शैक्षिक एवम् प्रशासनिक कामकाज पनि प्रभावित भएका छन् । जिल्लामा सञ्चालित ८४ वटा झोले विद्यालयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी बस्नेतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us