
म्याग्दी, ११ जेठ– म्याग्दीको कुइनेमङ्गले–४ पात्लेखेतमा भालुको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । अर्की एक महिला गम्भीर घाइते भएकी छन् ।
लसुनबारी र पल्लो पुछारखर्कको बीचमा गाई चराउन गएको अवस्थामा जङ्गली भालुको आक्रणबाट स्थानीय ५१ वर्षीया जमायाँ पुनको ज्यान गएको हो ।
भालुको आक्रमणबाट स्थानीय प्रितीमाया पुन गम्भीर घाइते भएकी छन् । उनलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचारपछि जिल्ला अस्पताल बेनी ल्याइएको छ ।
शनिबार दिउँसो जङ्गलमा गाई चराउन गएका उनीहरू अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा गाउँलेले उनीहरूलाई घाइते अवस्थामा फेला परेका थिए । दुवैलाई घर ल्याउँदै गर्दा जमायाको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थल पुग्न जिल्ला सदरमुकाम बेनीबाट दुई दिन लाग्छ । गाउँ नजिकै जङ्गलमा भालुले यसरी आक्रमण गरेपछि गाउँले त्रसित बनेका छन् । घटना घटेको खबर पाएपछि पाखापानी प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।