सुर्खेतमा भत्काइयो छाउपडी गोठ

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ३:१२ मा प्रकाशित

सुर्खेत, ११ जेठ–   पश्चिम सुर्खेतको घाटगाउँमा रहेका पाँचवटा छाउपडी गोठ भत्काइएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा वातावरण सुधार समाज सुर्खेत र दैलेखमा सञ्चालन भएको छाउपडी उन्मूलन परियोजनाले शनिबारदेखि सुरु गरेको अभियानअन्तर्गत घाटगाउँ–७ र ८ का छाउपडी गोठ भत्काइएको हो ।
गाविसस्तरीय छाउपडी उन्मूलन समितिका संयोजक एवम् गाविस सचिव कृष्ण बोहराको अगुवाइमा सम्बन्धित वडाका नागरिक मञ्चका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु, आमा समूहका प्रतिनिधि र शिक्षकहरुको सहभागितामा सञ्चालन भएको अभियानमा छाउ गोठ भएका घरहरुमा तथ्याङ्क सङ्कलन गर्ने र गोठहरु भत्काउने काम सुरु गरिएको छ ।
यो गाविसलाई आगामी भदौ मसान्तभित्र छाउपडी मुक्त गाविस घोषणा गर्ने अभियानअन्तर्गत पहिलो चरणमा सबैभन्दा बढी छाउ गोठ भएका वडाहरुमा छमहिने जनचेतनामूलक अभियान सञ्चालन गरिएको थियो ।
दोस्रो चरणअन्तर्गत वडाहरुमा घरदैलो अभियान सञ्चालन गर्ने, छाउ गोठ भत्काउने र निश्चित समयावधि दिई भत्काउन लगाउने गरिएको वातावरण सुधार समाजका लैङ्गिक तथा सामाजिक समावेशीकरण अधिकृत रुद्र आचार्यले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us