कम्प्युटर शिक्षक आफैं कम्प्युटर सिक्दै

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ३:०४ मा प्रकाशित

जाजरकोट, ११ जेठ– पाठयक्रममै कम्प्युटर शिक्षा राखेको एक वर्षपछि जाजरकोटका शिक्षकहरु बल्ल कम्प्युटर सिक्न थालेका छन् ।
जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षकहरु अहिले सदरमुकामका इन्स्टिच्युटमा धाउन थालेका छन् ।

जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको कम्प्युटर अध्यापन हुने विद्यालयका लागि १० दिने आइसिटी क्षमता विकाससम्बन्धी तालिममा सहभागी भएपछि धेरै शिक्षकले कम्प्युटर सिक्न थालेका हुन् । तालिममा कम्प्युटर खोल्न, बन्द गर्न, फाइल बनाउन, डाटा राख्न र इन्टरनेट सञ्चालन गर्न सिकेका शिक्षकहरु कम्प्युटरसम्बन्धी थप दक्षता हासिल गर्न इन्स्टिच्युट जान थालेका हुन् ।

हालै जिल्ला शिक्षा कार्यालयले १ सय १५ जना शिक्षकलाई कम्प्युटरसम्बन्धी १० दिने तालिम दिएको छ । तालिम लिएका शिक्षक कार्यरत विद्यालयलाई कम्प्युटर खरिद तथा पूर्वाधार विकासका लागि प्रतिविद्यालय एक लाख ४० हजार रुपैयाँ प्रदान गरिने जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए ।
उनले  बिस्तारै सबै विद्यालयमा कम्प्युटर तथा इन्टरनेटको व्यवस्था र यससम्बन्धी एकजना तालिम प्राप्त शिक्षकको व्यवस्था गर्ने लक्ष्य रहेको बताए ।

विद्युत अभावका कारण जिल्लाका धेरैजसो विद्यालय कम्प्युटरविहीन छन् भने शिक्षकहरुमा पनि यससम्बन्धी ज्ञान र सीपको अभाव छ । विद्यालयमा सञ्चार प्रविधिको विकास गरी पठनपाठनमा गुणस्तरियता ल्याउने सरकारी लक्ष्य रहे पनि जाजरकोटजस्ता दुर्गम जिल्लाका लागि यो कार्यक्रम सफल बनाउनु कम चुनौतीपूर्ण नभएको सरोकारवालाको भनाइ छ ।

विद्यार्थीहरुले अघिल्लो शैक्षिकसत्रमा कम्प्युटरको किताब नै नपढिकन परीक्षा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us