कोइरालाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता दिने

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले आफनो भारत भ्रमणबारे प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसहित साना दलका नेतासँग परामर्श गरेका छन् ।
sushilकोइरालाले एकीकृत माओवादी, राप्रपा, राप्रपा नेपाल, नेमकिपा र मधेसवादी दलका नेतालाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर परामर्श गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन कोइराला भोलि भारत जाँदैछन् । भेटमा नेताहरुले मुलुक संक्रमणकालमा रहेका बेला दीर्घकालिन महत्वका विषणमा कुनै सम्झौता नगर्न सुझाव दिएका छन् ।

छलफलमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीका अनुसार नेताहरुले भारतीय प्रधानमन्त्री मोदीलाई औपचारिक नेपाल भ्रमणको निम्ता दिन आग्रह गरेका छन् ।

नेपालका हरेकजसो प्रधानमन्त्री भारतले बोलाउने बित्तिकै जाने गरेको र भारतीय प्रधानमन्त्री नआउने गरेको भन्दै नेताहरुले यसले कुटनीतिक सम्बन्धमा समस्या ल्याउनेबारे कोइरालाको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा कोइरालाले मोदीलाई नेपाल भ्रमणको निम्ता दिने बताएको त्रिपाठीले बताए । छलफलका क्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोदीसमक्ष उनको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई नयाँ शिराबाट विकास गर्नेबारे प्रस्ताव राख्न आग्रह गरेका थिए ।

‘सपथ ग्रहण समारोहमा बोलाइएका कारण यो भ्रमणमा धेरै राजनीतिक विषयमा कुरा नहुन सक्छ’, प्रचण्डको भनाय उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले काठमाण्डु टुडेसँग भने, मोदीको कार्यकालमा सम्बन्ध राम्रो बनाउन दुई देशबीच रहेका सबै समस्या समाधानका लागि अग्रसर हुन प्रस्ताव राख्नुस् ।’
मोदीले आफ्नो सपथग्रहण कार्यक्रममा कोइरालासहित सार्क क्षेत्रका सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन् ।

भारतमा रहँदा प्रधानमन्त्रीले उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नेछन् । कोइरालाले यसअघि शनिबार भ्रमणबारे कुटनीतिक क्षेत्रका विज्ञसँग परामर्श गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us