किसानहरू व्यावसायिक मसुरो खेतीमा आकर्षित

काठमाण्डु टुडे २०७१ जेठ १० गते १४:४५ मा प्रकाशित

सप्तरी, १० जेठ– पछिल्ला केही वर्षयता सप्तरीका किसान व्यावसायिक मसुरोखेतीप्रति आकर्षित भएका छन् ।
सरकारले मसुरोखेती प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरेपछि किसानहरू मसुरो दालखेतीप्रति आकर्षित भएका हुन् । मसुरो दालको महत्व, दाल उत्पादन बढाउने तरिका र रोग किरा नियन्त्रणका विषयमा किसानलाई नियमित प्रशिक्षण दिँदै आएका कारण किसान मसुरो उत्पादनमा हौसिएका जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

कम लागतमा बढी उत्पादन हुने र बजारमासमेत मसुरो दालको माग र मूल्य बढी भएकाले आफूहरू मसुरोखेतीप्रति आकर्षित भएको किसान बताउँछन् ।

पहिलापहिला सप्तरीको करिब एक/डेढ हजार हेक्टरमा मात्र किसानले मसुरोखेती गर्दै आएकामा पछिल्लो दुई वर्षयता तीन हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमै मसुरोको खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

यस वर्ष सप्तरीमा किसानले तीन हजार १०५ हेक्टर क्षेत्रफलमा लगाएको मसुरोखेतीबाट प्रतिहेक्टर एक दशमलव २५ का दरले तीन हजार ८८१ मेट्रिक टन मसुरो उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यो गत वर्षको भन्दा बढी उत्पादन भएको हो । गत वर्ष तीन हजार हेक्टर क्षेत्रफलमा मसुरो लगाइएकोमा प्रतिहेक्टर शून्य दशमलव आठका दरले दुई हजार ४०० मेट्रिक टन उत्पादन भएको थियो ।

बाली लगाउनुपूर्व वर्षा भएको, रोग किराको प्रकोपलेसमेत खासै असर नपारेको र सरकारलेसमेत मसुरो दालको उत्पादन वृद्धिका लागि मिसन कार्यक्रम सञ्चालन गरेका कारण यस वर्ष सप्तरीमा मसुरो दालको उत्पादन बढी भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत विद्यासागर यादवले जानकारी दिए ।
धान काट्नुभन्दा १०/१५ दिन अघि मसुरोको बीउ छर्ने गरेकाले चिस्यान माटोमा बढी मसुरो उत्पादन हुने गरेको बाली विकास अधिकृत यादवको कथन छ ।

मसुरो दाल स्वास्थ्यका दृष्टिकोणलेसमेत राम्रो हुने, मसुरो दालमा प्रोटिनको मात्रा बढी हुने र चाहेको बेला बजारमा बेचेरसमेत आम्दानी गर्न सकिने भएकाले व्यावसायिक रूपमा किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत अशोककुमार दास यादवले बताए ।

नेपालमा दालबालीमध्ये सबैभन्दा बढी एक लाख ८७ हेक्टर क्षेत्रफलमा एक लाख ५१ हजार मेट्रिक टन मसुरो दाल उत्पादन हुँदै आएको प्रमुख यादवको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us