
काठमाण्डु, १० जेठ– पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने भएका छन् ।
मोदीले आगामी मंगलबार हुने सपथ ग्रहण समारोहमा सहभागी हुन पठाएको निम्तो पाकिस्तानले औपचारिक रुपमा शनिबार स्वीकार गरेको हो । भारतबाट अलग भएपछि पाकिस्तान भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन लागेको यो पहिलोपटक हो ।
मोदीले आफ्नो सपथग्रहण समारोहमा सार्क क्षेत्रका सबै मुलुकका सरकार प्रमुखलाई बोलाएका छन् । भ्रमणका क्रममा दुई देशका अधिकारीबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने पाकिस्तानी प्रधानमन्त्रीको प्रवक्ताले बताएका छन् ।
सरिफको भ्रमण मण्डलमा उनका परराष्ट्र एवम् सुरक्षा सल्लाहकार सरताज अलील पनि सामेल हुनेछन् । यसैबीच पाकिस्तानी प्रधानमन्त्री सरिफ मोदीको सपथ ग्रहण समारोहमा आउने भएपछि भारतीय जनता पार्टीले खुसी व्यक्त गरेको छ ।
‘यो हाम्रा लागि खुसीको खबर हो’, भाजपा प्रवक्ता प्रकाश जावडेकरले भनेका छन् । पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता शेरी रहमानले एक भारतीइ टेलिभिजन च्यानलसँग कुरा गर्दै द्विपक्षीय समबन्ध सुधारका लागि यो महत्वपूर्ण अवसर भएको बताएका छन् ।