आमाहरुको मापसेविरोधी अभियानले गाउँमा ल्यायो परिवर्तन

काठमाण्डु टुडे २०७१ जेठ १० गते ४:१३ मा प्रकाशित

म्याग्दी – म्याग्दीको बाबियाचौर गाविस– ९ मा पर्ने दरुङमा महिलाले मादक पदार्थ उत्पादन र प्रयोगलाई प्रतिबन्ध लगाएपछि गाउँमा परिवर्तन आएको छ ।
मदिरा सेवनका कारण झैझगडा र घरेलु हिंसाबाट पीडित भई आजित बनेका महिलाले गाउँमा मदिरा प्रयोग गर्न प्रतिबन्ध लगाएका हुन् ।

स्थानीय आमा समूहले डेढ वर्षअघि यस्तो निर्णयसँगै मदिरा उत्पादन, बिक्री वितरण र प्रयोग गर्नेलाई कारबाही गर्न थालेपछि गाउँमा परिवर्तन आएको छ । दरुङमा कुनै पनि मदिराको प्रयोग र उत्पादन गर्न निषेध गरिएको आमा समूहकी अध्यक्ष रामकुमारी किसानले बताइन् । उनका अनुसार मदिरा उत्पादन गर्नेलाई ५ सय र प्रयोग गर्नेलाई १ हजार जरिवाना तोकिएको छ ।

मापसे गरेको भेटिएमा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने गरिएको छ । आमा समूहको यस्तो अभियानपछि अहिले दरुङ गाउँमा मदिरा प्रयोग पूर्ण रुपमा बन्द भएको र गाउँको वातावरणसमेत शान्त बनेको स्थानीयवासी हीराकुमारी विकले बताइन् । ‘मदिराका कारण कुटपिट, झगडा र होहल्ला हुँदा गाउँ अशान्त बनेको थियो’, विकले भनिन्, ‘अहिले कसैले पनि मदिरा उत्पादन गर्दैनन् । खाने त कुरै भएन । अन्य ठाउाबाट रक्सी खाएर आएकाहरु पनि हल्ला नगरी बस्छन् । गाउँमा शान्ति छाएको छ ।’

मापसे कारबाहीबाट सङ्कलन भएको जरिवानालाई तरकारीखेती, कुखुरापालन र बाख्रापालन गर्न परिचालन गरिएको छ । मदिरा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका अहिले तरकारीखेती, कुखुरापालन र बाख्रापालन गरेर आम्दानी गर्न थालेका छन् ।

दलित समुदायको बाहुल्य बसोबास रहेको दरुङ गाउँमा ३५ घरधुरी छन् । गाउँका रुख, चौतारी, पधेरा र टोलटोलमा मदिरा निषेधित क्षेत्र भएको सूचना टाँस गरिएको छ ।
–––––––

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us