न्यायाधीशलाई सभासदको प्रश्न, ‘किन चारवटी श्रीमती ल्याउुनभो ?’

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १३:२१ मा प्रकाशित

 काठमाण्डु, ९ जेठ– संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका लागि न्यायपरिषदले सिफारिस प्रस्तावित न्यायाधीशहरुबारे सुनुवाई थालेको छ ।

gopal parajuliसमितिले शुक्रबार प्रस्तावित ८ मध्ये वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीसँग उनीहरुविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको छ । संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएका पराजुलीसँग सभासदले चारवटा बिहे गरेकोबारे प्रश्न गरेका थिए ।

पराजुलीलाई अधिकांश सभासदले चारवटा बिहे गर्नुको कारण र श्रीमतीहरुको व्यवस्थापनबारे प्रश्न सोधेका हुन् । केही सभासदले संविधानको कुन धाराअन्तर्गत चारवटा बिहे गर्नुभयो ? भनेरसमेत सोधेका थिए । एमाले सभासद भीम रावलले आफ्ना गलत कर्महरुप्रति प्रयश्चित गर्नुको साटो किन अदालतमा न्यायाधीश हुन अघि सरेको भन्दै पराजुलीसँग प्रश्न गरे ।

सर्वोच्चको न्यायाधीश हुन लागेको व्यक्तिले त्यस्ता आरोप लागेपछि म अब नैतिकताका आधारमा न्यायाधीश हुन्न भन्नुपर्ने रावलको भनाइ थियो । ‘तपाईंले गरेका फैसलाका निर्णयका प्रतिलिपी पनि हामीसँग छन्’, रावलले भने, ‘न्यायपालिकामा काम गर्नेले मात्र होइन कुनै पनि सभ्य नागरिकले त्यस्तो काम गर्ने हो भने माला जपेर प्रायश्चित गर्नुपर्छ, बिरक्तिएर हिंड्नुपर्छ ।’
चारवटी श्रीमती ल्याएको विषयमा रावलसहित सभासदहरु रवीन्द्र अधिकारी, प्रकाशशरण महत, एकनाथ ढकाल, प्रभु साह, आरजु राणालगायतले प्रश्न सोधेका थिए । नेपालको संविधानले बहुविवाहलाई गैरकानुनी मानेकाले चारवटी विवाह गरेकाले कसरी सर्वोच्चको न्यायाधीश हुन मिल्छ भन्ने प्रश्न सभासदरुको थियो ।

जवाफमा उनले बाध्यतावस बहुविवाह गरेको बताए । पहिलो श्रीमतीसँग राजनीतिक कारणले पारपाचुके भएको दाबी उनले गरे । आफू राजनीतिबाट कानुन व्यवसायमा आएको भन्दै उनले राजनीतिमा हुँदा पटकपटक जेल परेका कारण श्रीमतीले अरुको उक्साहटमा छाडेर हिंडेको जिकिर गरे ।
दोश्री श्रीमती क्यानसरबाट र तेश्री श्रीमतीको सवारी दुर्घटनामा परेर ज्यान गएका कारण चौथो श्रीमती विवाह गरेको बताए । आफूसँग एकै समयमा दुईवटी श्रीमती नरहेका कारण बहुविवाहको आरोप लगाउन नमिल्ने तर्क उनको थियो ।

‘विधवाले अर्को विवाह गर्न हुन्छ भने विदुरले पनि हुन्छ भनेर विवाह गरेको हुँ’, पराजुलीलले लगा अवरुद्ध पार्दै भने । उनले आफूमाथि लागेका सबै आरोप गलत भएको दाबी गरे ।

आफ्नो इजलाशले एकजना पूर्वप्रधानन्यायाधीशको विपक्षमा फैसला गरेका कारण उनले पूर्वाग्रह साध्न नक्कली नाम खडा गरेर धेरै उजुरी हाल्न लगाएको उनको आरोप थियो । पराजुलीविरुद्ध समितिमा २२ वटा उजुरी परेका थिए ।

उनले उजुरी दिने म्याद सकिएपछि पनि उजुरी दर्ता गरेको भन्दै संसदीय समितिप्रति रोष प्रकट गरे ।
अर्का प्रस्तावित न्यायाधीश उपाध्यायाले आफूहरुले सोधेका प्रश्नको टालटुले जवाफ दिएर उम्किएको भन्दै सभासदहरु आक्रोशित भए । काँग्रेस सभासद प्रकाशशरण महतले उपाध्यायमाथि प्रैसा लिएर एकीकृत माओवादी नेता बालकृष्ण ढुंगेललाई ज्यान मुद्धामा सफाइ दिएको आरोप लगाए ।

जवाफमा उनले ढुंगेलसँग पैसा लिने हैसियत आफ्नो नभएको बताए । बरु बाहुन भएकै कारणले अर्को बाहुनलाई उन्मुक्ति दि न खोज्यो भन्ने आरोप लगाएको भए हुने भन्दै उनले पैसाका आधरमा फैसला गरेको भन्ने आरोपले आफूलाई आश्चर्य र दु:ख लागेको उल्लेख गरे । ‘त्यतिबेला बालकृष्ण ढुंगेलसँग पैसा कुम्ल्याउने तागत कसको ?’, उपाध्यायले भने, ‘ तपाईंहरुको पनि त्यस्तो हैसियत थिएन ।’

उनले आफूलाई मुन नभई स्टार हुन मन रहेको बताए । ‘मलाई प्रधानन्यायाधीश हुनुछैन, न्याायधीश हुन दिनुस्’, उनले भने । न्यायाधीश सिफारिस गरिएका अन्य ६ जनाको शनिबार सुनुवाई हुने समितिले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us