राजधानीमा कमलपित्तका बिरामी बढे

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ९:२१ मा प्रकाशित

काठमाण्डु , ९ जेठ – विराटनगरमा फैलिएको कमलपित्त पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ ।

कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको चिकित्सकले बताए । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा गीता शाक्यले ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीमा कमलपित्तको लक्ष्यण देखिने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक पाँच छ जना कमलपित्तका बिरामी फेला पर्ने गरेको छन् ।

काठमाडौँ उपत्यकामा पनि कमलपित्त विस्तारै ठूलो रुप ल्याउन थालेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिए ।  उनका अनुसार पाटन, वीर, त्रिवि, शिक्षणलगायत अस्पतालमा कमलपित्तका बिरामी अत्यधिक भेटिएका छन् ।

दूषित पानी, धुवाँधुलो तथा सडेगलेका खानेकुराले गर्दा कमलपित्त सङ्क्रमण हुने गर्छ । शरीरमा रहेको फलामको मात्रा नष्ट भएपछि रक्तसञ्चारमा पैदा हुने एकखालको विकार विलिरुविन (रगतमा मृत कोषिका) को मात्रा बढ्दै जानाले कमलपित्त देखापर्ने जनस्वास्थ्य प्रयोगशालाका डा शाक्यको भनाइ छ । “जन्डिसबाट आर्थिक अवस्था कमजोर भएका महिला, बालबालिका तथा दैनिक मजदुर गरेर खाने व्यक्ति बढी प्रभावित भएका छन्”, डा शाक्यले बताए ।

बासी, काँचो र सडेगलेका खानेकुरा नखाने, उमालेको तथा प्रशोधित पानी पिउने तथा सडकमा खुला रुपमा बेच्न राखिएका खानेकुरा नखाने गर्नाले कमलपित्तबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us