एक सय ५७ वर्ष पुरानो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ९:१५ मा प्रकाशित

 

जनकपुरधाम, ९ जेठ – क्षमताभन्दा तीनगुना बढी भएपछि जलेश्वर कारागारका कैदीबन्दीको दैनिक जीवन कष्टकर र अस्तव्यस्त बन्न पुगेको छ । ठाउँ अभावले बन्दी एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता रहेको छ ।

जीर्ण कारागार, पानीको अभाव, शौचालय पर्याप्त नभएको, भवनको अभाव रहेको कारागार शासनले जनाएको छ । यसले गर्दा कैदीबन्दी क्षयरोग, झाडापखाला, रुघाखोकी, ज्वरो तथा छालासम्बन्धी रोगको सिकार बन्दै गएका छन् ।

एक सय ३५ जना कैदीबन्दीको क्षमता रहेको सो कारागारमा ३३ महिला, पाँच जना आश्रित बालबालिकासहित ४६१ जना कैदीबन्दी रहेका छन् ।

सो कारागारमा लागुऔषध तथा कर्तव्य ज्यान मुद्दामा भारतका १८ जना, कीर्ते नागरिकता मुद्दामा बर्मेली तथा बङ्गलादेशी छ जना विदेशी नागरिक समेत रहेका छन् ।

पाँचजनाको ज्यान जाने गरी जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटमा मुख्य योजनाकार निलम्वित सभासद् सञ्जयकुमार साह, मुकेश चौधरी र अर्जुनसिंह अन्यत्र कारागारमा रहेका छन् भने भूमिगत सङ्गठनका खतरनाक ३७ जना अपराधी अहिले पनि जलेश्वर कारागारमै रहेका छन् ।

एक सय ५७ वर्ष पुरानो सो कारागार जीर्ण अवस्थामा रहेको छ भने एउटा कोठामा कम्तीमा २० जनादेखि बढीमा एक सय जना सम्म कैदी राखिएको जेलर शोभेन्द्र ठाकुरले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us