चेलीबेटी बेचविखनका नाइकेले गरे हत्या

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ७:२६ मा प्रकाशित

नुवाकोट, ९ जेठ–  नुवाकोटको बालकुमारी– ९ निगालेमा करोडपति लो भन्ने मानबहादुर तामाङले एक जनाको हत्या गरेका छन् ।
तामाङले गत फागुन ११ गते राति मकवानपुर आग्राका कुशल तामाङको हत्या गरेका हुन् । कुशललाई आफ्नै घरमा बोलाएर उनले हत्या गरेका हुन् । घटनापछि तामाङ फरार छन् ।
मानबहादुर लामो समयदेखि चेलीबेटी वेचबिखनमा संलग्न थिए । उनले विगत ३ दशकदेखि गाउँका चेलीबेटी भारतका विभिन्न सहरमा बिक्री गर्नुका साथै महाराष्ट्रमा कोठी सञ्चालन गर्दै आएका छन् । आफ्नो श्रीमानको हत्या भएको भन्दै उनकी श्रीमतीले काठमाण्डुको बौद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा नुवाकोट प्रहरीले कुशलको खोजी गरे पनि लामो समयसम्म फेला पार्न सकेको थिएन ।  घटना भएको ८० दिनपछि गत वैशाख ३० गते घाँस दाउराका लागि गएका स्थानीयले बालकुमारी र महाकाली गाविसको सीमा क्षेत्रमा पर्ने जंगलमा कुशलको शव फेला गरेको हो ।

घटनामा संलग्न मानबहादुर तामाङ भने घटना भएकै राति भागेर भारत गएको स्थानीयले बताएका छन् । उक्त मुद्धामा आफू फस्ने संकेत पाएपछि काठमाण्डुको पञ्चेटारमा रहेको करिव २ रोपनी जग्गा डेढ करोड रुपैयाँमा बेचेर पुन: भारत गएका छन् ।

घटनाको पोल नखुलाउने सर्तमा उनले हत्यामा प्रयोग गरिएकाहरुलाई ६ लाख रुपैयाँ बाँडेका छन् । स्रोतका अनुसार मानबहादुरको संरक्षणमा वर्तमान सरकारका प्रभावशाली मन्त्री रामशरण महत र उनका भतिज रमेश महतसमेत रहेको खुल्न आएको छ ।
मुख्य योजनाकार मानव तस्कर एवम् वेश्यालय सञ्चालक मानबहादुर तामाङसँग मोटो रकम हात पार्ने र पीडित पक्षका पासाङ शेर्पालगायत युवालाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले घटनामा फसाउने षड्यन्त्र बनाइरहेको दाबी पारिपारिक स्रोतको छ । यसैबीच हत्यामा संलग्न फुर्पा तामाङ मानबहादुरको पञ्चेटारस्थित घरमा लुकेर बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us