
काठमाण्डु , ९ जेठ – नेकपा–माओवादीले लामो समयदेखि माग राख्दै आएको सर्वपक्षीय र सर्वदलीय भेला हुने भएको छ ।
नेकपा–माओवादीको मागबमोजिमको सर्वपक्षीय भेला आयोजना गर्नेबारेमा आज प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच छलफल भई सो सहमति भएको हो ।
सर्वपक्षीय भेलाका बारेमा नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले भने, “मुलुकमा विद्यमान राजनीतिक समस्याको निकासका लागि प्रधानमन्त्री कोइरालासँग सकारात्मक छलफल भयो, उनको भारत भ्रमणपछि सर्वपक्षीय भेलाको आयोजना गर्ने सहमति भएको छ ।”
सचिव गुरुङका अनुसार भेला आयोजनाअघि प्रारम्भमा प्रमुख चार दलबीच छलफल हुने र त्यसपछि अन्य दल र पक्षलाई सहभागी गराइनेछ ।
भेला कहिले गर्ने र कसरी गर्ने भन्ने सम्बन्धमा छलफलका लागि प्रधानमन्त्रीले बोलाएको बताउँदै नेता गुरुङले भेलाको संयोजन पनि सरकारले नै गर्ने जानकारी दिए ।