भट्टराईले मागे रायमाझीलाई महासचिव र यमीलाई कोषाध्यक्ष

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ४:३४ मा प्रकाशित

काठमाण्डु, ९ जेठ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफू पक्षधर केही नेतालाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने अडान राखेका छन् ।
baburam_250अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बिहान बसेको पदाधिकारी बैठकमा उनले टोपबहादुर रायमाझीलाई महासचिवसहित संसदीय दलको उपनेता र पत्नी हिसिला यमीलाई कोषाध्यक्ष बनाउन माग गरेका हुन् ।

तर उनको माग अन्य नेताले अस्वीकार गरेका कारण बैठक बिनानिष्कर्ष सकिएको छ । विराटनगर राष्ट्रिय सम्मेलनबाट सुरु भएको विवाद केन्द्रीय समिति विस्तारसँगै केही मत्थर भए पनि एमाओवादीमा नेताहरुको कार्यविभाजनको विषयलाई लिएर पुन: विवाद बल्झिएको छ ।

आफूहरुलाई सम्मानजनक स्थान नदिइएको भन्दै असन्तुष्ट बाबुराम भट्टराई पक्ष बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि विवाद मिलेको थियो । यसअघि हेटौंडा महाधिवशेनबाट निर्वाचित केन्द्रीय समितिमा पनि यमीलाई कोषाध्यक्ष बनाउनुपर्ने माग अस्वीकृत भएपछि उनले उपाध्यक्षबाट राजीनामा दिएर कुनै पनि पदमा नबस्ने घोषणा गरेका थिए ।
बैठकमा स्थायी कमिटी र पोलिट्ब्युरो गठनबारे समेत छलफल भए पनि निष्कर्षमा नपुगिएको एक नेताले काठमाण्डु टुडेलाई बताए । माओवादीले केन्द्रीय समितिको एक तिहाई अर्थात ५१ सदस्यीय पोलिट्ब्युरो र त्यसको एक तिहाई १७ सदस्यीय स्थायी समिति बनाउने भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरु भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर र टोपबहादुर रायमाझी सहभागी थिउ । यसैबीच आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पदाधिकारी बैठक लम्बिएका कारण दिउँसो १ बजेका लागि सारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us