
काठमाण्डु, ८ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका थप दुई नेताले अध्यक्ष सूर्यबहादु थापाले तोकेको जिम्मेवारी अस्वीकार गरेका छन् ।
थापाले विधिविपरीत र बिनासल्लाह मनोनयन गरेको भन्दै उनीहरुले बिहीबार विज्ञप्ति निकालेर जिम्मेवारी अस्वीकार गरेका हुन् ।
यसरी जिम्मेवारी अस्वीकार गर्नेमा राजनीतिक समितिका संयोजक परशुराम खापुङ र राष्ट्रिय युवा स्वयमसेवक संयोजक रवीन्द्रप्रताप शाह छन् । ‘पार्टीलाई नकारात्मक असर पर्ने गरी बिनासल्लाह विधि सम्मत निर्णय नै नगरी संयोजकहरु नियुक्त गर्नुभएकोमा हाम्रो गम्भीर असहमति छ’, विज्ञप्तिमा भनिएको छ ।
यसअघि बिहीबार सात विभागीय प्रमुखले जिम्मेवारी अस्वीकार गरेका थिए ।