भट्टराईपक्ष केन्द्रीय समितिमा फर्कियो

काठमाण्डु टुडे २०७१ जेठ ८ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्ष केन्द्रीय समितिमा फर्किएको छ ।
भट्टराईसहित उनी पक्षधर २९ जना बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । आफ्नो पक्षलाई माइनस गरिएको भन्दै भट्टराई पक्षका १६ जनाले विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा बस्न अस्वीकार गरेको थियो ।

baburamभट्टराई पक्षलाई समेट्न केही दिनअघि केन्द्रीय समिति ९९ बाट विस्तार गरी १ सय ५१ सदस्यीय बनाउने निर्णय एमाओवादीले गरेको थियो । विस्तारित केन्द्रीय समितिमा भट्टराई पक्षका १४ जना थपिएका छन् ।

बिहीबारको बैठकमा भट्टराईसहित ६२ केन्द्रीय सदस्यले सपथ लिएका छन् । बिहीबारको बैठकले पुष्पा घर्ती र उपेन्द्र साहलाई थप गरी केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र छलफलमा स्वतन्त्रता र कामबारबाहीमा एकरुपता भन्ने मान्तालाई कडाइका साथ पालना गर्न दिर्नेशन दिएको प्रवक्ता दीनानाथ शर्माले बताए ।

शर्माका अनुसार प्रचण्डले पार्टीमा नयाँ बहस सुरु भएको भन्दै त्यसले पार्टी रुपान्तरणका भूमिका खेल्ने बताएका थिए । ‘पार्टीको संघर्ष र बहसको ऐतिहासिक सुरुआत भएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘यसले पार्टी संगठनलाई सुदृढ गर्न मद्धत पुग्नेछ ।’

बैठकमा नेता भट्टराईले भने पार्टीमा फरक विचार राख्नेलाई निधेष गरिएको दोहोर्‍याएका थिए । उनले फरक विचार राखेकै आधारमा जिम्मेवारी नदिने र निषेध गर्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us