जनसम्पर्क समितिको साधारणसभा हुने

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ५:१४ मा प्रकाशित

नेदरल्याण्ड, ६ जेठ– काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिहरुको युरोपेली क्षेत्रीय सम्मेलन तथा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको वार्षिक साधारणसभा आगामी मे २७ मा नेदरल्याण्डमा हुने भएको छ ।
युरोपेली मुलुकहरुमा रहेका जनसम्पर्क समितिहरुको संस्थागत विकास प्रक्रिया, स्थायित्व, व्यवस्थापन र आपसी सहकार्य आदान–प्रदान गर्ने उद्धेश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलनको नारा
नेपाली जनसम्पर्क समिति युरोपको आह्वान, आथिर्क समृद्धि, लोकतन्त्र र एकताको अभियान’  भन्ने तय गरिएको छ । कार्यक्रममा सहभागी हुन नेपाली काँग्रसेका उपसभापति रामचन्द्र पौडेल तथा केन्द्रीय सदस्य प्रकाशशरण महतलगायतका नेता आमस्टाडाम आउने बताइएको छ ।

उद्घाटन सत्र पश्चात नेपाली काँग्रेसको नीति तथा कार्यक्रम, नेपाली जनसम्पर्क समितिहरुको संस्थागत विकास, उनीहरुका कानुनी समस्या, जनसम्पर्क समिति परोपकारी कोष, आथिर्क कोष निर्माण, युरोप क्षेत्रमा जनसम्पर्क समितिहरुबीच सहयोग आदन प्रदान तथा गठन नभएका मुलुकमा जनसम्पर्क समिति गठनमा सहजीकरण लगायत विषयमा छलफल हुनेछ ।

यस्तै नयाँ बन्ने संविधानमा विदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरता र आप्रवासी नेपाली कामदारहरुको हक, अधिकार र सुरक्षा जस्ता विषयहरुमा छलफल हुने आयोजकको भनाइ छ ।
कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमितिहरु निमार्ण भएको र तयारी अन्तिम चरणमा पुगेको नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसका अध्यक्ष दिपक रेग्मीले बताए । उनले विभिन्न देशबाट सहभागिताका लागि नाम दर्ताको काम भइरहेको उल्लेख गरे । सम्मेलन  आमस्टाडाम घोषणा पत्र जारी गर्दै सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us