फरक–फरक स्थानमा सवारी दुर्घटना हुँदा ६ को मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १३:०५ मा प्रकाशित

मोरङ, ५ जेठ  – बिराटनगर उपमहानगरपालिका–२१ रामजानकी चोकमा को.६ प ९८९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया जुनिया यादबलाई ठक्कर दिंदा गम्भीर घाइते भएकोमा न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा निजको मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटी ५ जेठ –दिपायल सिलगढी नगरपालिका–११ स्थित दिपायल–मौवा सडक खण्डमा भे.१ त ४०६६ नम्बरको ट्याक्टर जेठ ४ गते १३ः४५ बजे अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६ वर्षीय दिले नेपाली र दिपायल सिलगढी नगरपालिका–१२ बस्ने ४० वर्षीया ईशारादेबी भुलको घटनास्थलमै मृत्यु भएको छ । चालक समेत ६ जना घाइते भएकोले उपचारको लागि २ जनालाई प्राथमिक स्वास्थ्य चौकी शिखा, ३ जनालाई सुजुङ अस्पताल दिपायल र चालकलाई क्षेत्रीय प्रहरी अस्पताल दिपायल लगिएको छ ।

धनुषा ५ जेठ –जनकपुर नगरपालिका–७ स्थित बसपार्कमा पार्किंङ गरी राखेको ज.१ ख ७४५ नम्बरको बस चालकले स्टार्ट गरी ब्याक गर्दा उक्त बसको मुनि सुतिराखेका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषलाई जेठ ४ गते १६ः२० बजे किच्दा निजको घटनास्थलमै मृत्यु भएको छ । उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही ५ जेठ –औरही–९ स्थित भित्री सडकखण्डमा ज.१ त ३२०१ नम्बरको ट्याक्टरले साईकलयात्री सलेमपुर–७ बस्ने १७ वर्षीय संजय माझीलाई जेठ ४ गते २०ः३० बजे ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको छ । चालक फरार छन् भने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ ।
सिराहा अयोध्यानगर–१ स्थित महेन्द्र राजमार्गमा को.१ ख ७७१ नम्बरको ट्रकले नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषलाई जेठ ४ गते २१ः०० बजे अचानक ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा ५ जेठ – धर्मनगर–६ स्थित सडकमा ना.१ त ४८८९ नम्बरको ट्याक्टर जेठ ४ गते १६ः०० बजे अनियन्त्रित भई नहरको पुलमा खस्न जाँदा ट्याक्टर चालक रघुनाथपुर–७ बस्ने २५ वर्षीय फर्मुल्लाह मिया घाइते भएकोमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us