वंश परम्पराको नेतृत्व गर्न सकेन काँग्रेसले

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – भारतीय काँग्रेस पार्टीले हालैको निर्वाचनको समीक्षा गर्न सोमबार नयाँ दिल्लीमा भेला बोलाएको छ ।

हालैमात्र सम्पन्न भारतीय संसदको तल्लो सदनको आमनिर्वाचनमा हाल सत्तामा रहेको प्रमुख दल भारतीय काँग्रेसले नराम्रो पराजय भोग्नुपरेको थियो ।

जसका कारण उक्त दलका प्रमुख नेताहरु सोनिया गान्धी र राहुल गान्धीलाई उक्त दलका नेता तथा कार्यकर्ताहरुले व्यापक आलोचना गरेका छन् ।

भारतीय काँग्रेसलाई भारतको गान्धी परिवारको छत्रछायामा रहेको दलका रुपमा लिने गरिएको र यसपाली पनि उनीहरुकै नेतृत्वमा पार्टी निर्वाचनमा गएको थियो ।

भारतमा अप्रत्यासित रुपमा भारतीय जनता पार्टीले स्पष्ट बुहमत हासिल गरेको र भारतीय काँग्रेसले अप्रत्यासित रुपमा हार व्यहोर्नुपरेको बताइएको छ ।

सो दल र त्यसको नेतृत्व गरिरहेका नेताहरु सोनिया र राहुल गान्धीको नेतृत्व असफल भएको भन्द उनीहरुले पार्टीको नेतृत्व छोड्नुपर्ने आवाज उठिरहेका बेला सोमबारका लागि राजधानी नयाँ दिल्लीमा यो भेला बोलाइएको हो ।

दक्षिण एसियाको एक पुरानो र शक्तिशाली मानिएको राजनीतिक वंशका रुपमा रहेको गान्धी परिवारलाई यस अप्ठेरो परिस्थितिमा रहेको अवस्थामा देशव्यापी रुपमै राजिनामा गर्न दबाब सिर्जना गरिएको छ ।

तरपनि पार्टीले भने उनीहरुको राजिनामालाई स्वीकार गर्ने सम्भावना देखिँदैन– विश्लेषकहरुको भनाई छ । यस भेलालाई गान्धीले राजिनामा दिनका लागि बोलाइएको भेला भनी भारतीय सञ्चारमाध्यमहरुले टिप्पणी गरिरेहका छन् ।

तर यसको आधिकारिक भनाई भने काँग्रेस वा उनीहरुका तर्फबाट पनि केही आएको छैन । सोमबार अपरान्ह हुन लागेको सो भेलाको प्रचार सञ्चारमाध्यमहरुले बिहानै देखि गरिरहेका छन् ।

यस आमनिर्वाचनले काङ्ग्रेस पार्टीको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील गठबन्धन (युपीए) लाई ५९ स्थानमात्र दिएको छ ।

यसअघिको पन्ध्रौँ लोकसभाको आमनिर्वाचनमा युपीएले २२९ स्थान हासिल गरेको थियो र त्यसमा कङ्ग्रेस पार्टीको स्थान २०६ रहेको थियो । तर यस आमनिर्वाचनले काँग्रेस पार्टीलाई भने ४४ स्थान मात्र उपलब्ध गराएको छ ।

काँग्रेस पार्टीका अध्यक्ष तथा उपाध्यक्ष सोनिया तथा राहुल गान्धीले यस निर्वाचनमा आफ्नो दलको पराजय स्वीकार गर्दै आफ्नो जिम्मेवारी पनि स्वीकार गरेका छन् ।
तर पार्टी भित्र र बाहिरबाटै दश वर्षसम्म सत्तामा रहेर आमनिर्वाचन गराउँदा प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत दिलाउन नसकेको भन्दै उनीहरुलाई पार्टी नेतृत्वबाट हट्न दबाब दिइएको छ ।
भारतको स्वतन्त्रतापछिको राजनीतिमा गान्धी–नेहरू वंश परम्पराको नेतृत्वमा निकै लामो प्रभूत्व रहेको छ । भारतीय राजनीतिक इतिहासमा यसै वंशबाट मात्र तीन प्रधानमन्त्री भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us