राहदानी बङ्गलादेशमा बिक्री गर्ने गिरोह पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ११:१० मा प्रकाशित

काठमाण्डु, ५ जेठ – नेपाली राहदानी बङ्गलादेशमा लगेर बिक्री गर्ने एक नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा संलग्न संस्थाको आडमा १४ थान नेपाली राहदानी बिक्री गर्ने खोटाङ दिक्तेलका ४७ वर्षीय कुमार पुरी र सङ्खुवासभाका ४३ वर्षीय पूर्णबहादुर मगरलाई पक्राउ गरेको तथा अर्का अभियुक्त देवीप्रसाद काफ्ले भने फरार रहेको जनाएको छ ।

ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमकुमार कार्कीले साउदी अरबस्थित एएल यामामा कम्पनीबाट केएल इम्प्लोइमेन्ट सर्भिसेस प्रालिको नाममा ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’मा १०० कामदार माग भई आएकामा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई २५ कामदारको राहदानी सङ्कलन गरी अभियुक्तले १४ थान बिक्री गरिसकेको अनुसन्धानबाट पत्ता लागेको बताए ।

पच्चीस थान राहदानी बिक्रीका लागि बङ्गलादेश पु¥याइएको भए पनि १४ थानमात्र रु २९ लाख ५० हजारमा बिक्री गरिएको र अन्य भने फिर्ता ल्याइएको थियो ।

विभिन्न खाडीमुलुकमा बङ्गलादेशी नागरिकलाई कामदारका रुपमा बन्देज लगाइएकाले उनीहरु नेपाली राहदानी प्रयोग गरी विदेशमा पुग्ने गरेको जानकारी दिए ।

कार्कीले यदि विदेशमा नेपाली राहदानी प्रयोग गर्ने गैर नेपालीको मृत्यु भएमा सनाखत गर्नसमेत समस्या हुने गरेको बताउँदै राहदानी दुरुपयोग तथा बिक्रीसम्बन्धी मौजुदा राहदानी ऐन २०२४ ले व्यवस्था गरेअनुसार अपराधको परिभाषा र सजायलाई संशोधन गर्नुपर्ने औँल्याए ।

यसैगरी ब्युरोले कोटेश्वर साइबाबा गल्लीस्थित चेतनारायण श्रेष्ठको घरमा आइतबार छापामारी सोही घरमा डेरा लिई बस्ने शिव श्रेष्ठको कोठाबाट अनधिकृत रुपमा टेलिफोन सेवाको प्रयोग(भिओआइपी) सञ्चालन गरिरहेका २३ वर्षीय श्रेष्ठ र ३२ वर्षीय दीपेशरत्न शाक्यलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us