कोरिया सरकारद्वारा रु छयालीस करोड अनुदान

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ८:२९ मा प्रकाशित

काठमाण्डु,  ५ जेठ – कोरिया सरकारले मुलुकका पाँच जिल्लामा राष्ट्रिय स्वास्थ्य बिमा सहयोग परियोजना कार्यान्वयन गर्न रु ४६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

south koreaआगामी तीन वर्षका लागि उक्त मुलुकले प्राविधिक सहायतास्वरुप उपलब्ध गराएको सो रकम कैलाली, इलाम, बागलुङ, बाँके र सर्लाहीमा परियोजना सञ्चालनमा कार्यान्वन गरिने छ । पहिलो पटक उक्त परियोजना कैलाली जिल्लामा परीक्षणका रुपमा सञ्चालन गरिने छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव युवराज भुसाल र नेपालका लागि कोरियाली राजदूत चो योङ जिनले हस्ताक्षर गरेका छन् ।

उक्त परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्ने छ । परियोजना कार्यान्वयन भएपछि सर्वसाधारणको स्वास्थ्यमा सहज पहुँच पुग्नेछ ।

त्यस अवसरमा राजदूत चोले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा परियोजना फलदायी हुने विश्वास व्यक्त गर्दै कैलालीमा सञ्चालन हुने कार्यक्रमबाट अन्य जिल्लामा कार्यसम्पादन गर्न सरल र सहज हुने बताए ।

अर्थसचिव भुसालले नेपालको सामाजिक–आर्थिक विकासमा कोरिया सरकारले निरन्तर रुपमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us