विद्याले गरिन् अध्यक्षमा ओलीको उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १४:५० मा प्रकाशित

काठमाण्डु, ५ जेठ– एमालेले आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा नेता केपी ओली पक्षले प्रमुख पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
bidhya bhandari2सो पक्षकी उपाध्यक्ष विद्यादेवी भण्डारीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी छन् ।
भण्डारीले अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा बामदेव गौतम र महासचिवमा ईश्वर पोखरेलको नाम घोषणा गरिन् । भण्डारीले नवौं महाधिवेशनले अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गर्ने दाबी गरिन् ।

भण्डारीले महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव ल्याउनुपर्ने जिकिर गरिन् । ओलीको हातमा नेतृत्व गए पार्टीको लोकतान्त्रिकरण, दीर्घजीवन र पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने भण्डारीको भनाइ थियो ।

ओलीले एक पद एक नेतृत्वको विचार सार्दै आएको भन्दै उनले एक कार्यकालभन्दा बढी अध्यक्ष नहुने स्पष्ट गरिन् ।

अध्यक्षका अर्का दाबेदार माधवकुमार नेपालको पटकपटक क्षमता परीक्षण भइसकेकाले उनले नेतृत्वमा दाबी त्याग्नुपर्ने बताइन । कार्यक्रममा सचिव विष्णु पौडेल र पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले नवौं महाधिवेशनबाट ओली पार्टी अध्यक्षमा हुनुको विकल्प नरहेको बताए । कार्यक्रममा पौडेल र न्यौपानेसहित ओली पक्षका अर्का सचिव शंकर पोखरेल, रामनाथ ढकाल, किरण गुरुङ, थममाया थापालगायत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us