
काठमाण्डु, २ जेठ – संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले पुण्यप्राप्त गर्ने सिलसिलामा आफूले विदेश यात्रा गरेको सभासद्हरुलाई स्पष्टीकरण दिएका छन् ।
मुलुकको प्राथमिकताको सूचीमा रहेको संविधान निर्माणको कामलाई छोडेर सभासद् मात्र नभई संविधान लेखनको हिसाबले सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक–राजनीतिक संवाद समितिकै सभापतिले समेत विदेश भ्रमण गरेको प्रसङ्ग समितिको आजको बैठकमा उठेपछि उनले उक्त स्पष्टीकरण दिएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने ‘ पहिले नै तय भएअनुरुप पुण्य कमाउन गएको हुं, त्यो पुण्य सबैलाई अर्पण गर्दछु ।’सभापति भट्टराईको सपरिवार केही दिनअघि चीनको स्वशासित क्षेत्र तिब्वत भ्रमणमा गएको र सो क्रममा मानसरोवरसमेत पुगेको थियो ।
बैठकमा सभापति भट्टराईले संविधान लेखनको काम छोडेर अब आफूपनि विदेश नजाने प्रतिबद्धता व्यक्त गर्दै अरु सभासद्लाई पनि नजान अनुरोध गरेका थिए ।