
काठमाण्डु , २ जेठ – नेकपा (एमाले)का सचिव शङ्कर पोखरेलले सार्वजनिक संस्था जीवित रहेमा मुलुकमा बजारको स्वनियन्त्रण र रोजगारी सिर्जना हुने बताएका छन् ।
सार्वजनिक संस्था कर्मचारी सङ्गठन, नेपालको रजत महोत्सव वर्षका अवसरमा बिहीबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले पुँजीवादको प्रभावका नाममा सार्वजनिक संस्थालाई धमाधम निजीकरण गर्नुपर्छ भन्ने मान्यतामा आफू सहमत नभएको भन्दै त्यस्ता संस्थालाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सचिव पोखरेलले नेपालीले अधिकारको लडाइँमा जित्दै आए पनि प्राप्त उपलब्धिको रक्षा गर्नमा राजनीतिक नेतृत्व पनि चुक्दै आएकाले खेती गर्न जान्ने तर बाली सम्हाल्न नसक्ने अवस्था आउने गरेको टिप्पणी गर्दै अब अधिकार प्राप्तिको उपलब्धिको रक्षा र मुलुकको समृद्धिका लागि लाग्न आग्रह गरे ।
एमालेका पोलिटब्युरो सदस्य सुरेन्दप्रसाद पाण्डेले मुलुकमा प्रारम्भिक पुँजीवाद आइसकेकाले अब सार्वजनिक संस्थाका उत्पादन र कार्यमा त्यसको प्रभाव हुनुपर्ने बताउँदै आफूलाई प्रतिस्पर्धी बनाउन आग्रह गरे ।
एमालेका केन्द्रीय सदस्य डा विजय पौडेलले सरकारले सार्वजनिक संस्थामाथि मोटाउन पनि नदिने र दुब्लाउन पनि नदिने प्रकारको व्यवहार गरेको भन्दै स्वायत्तताको नीति लिन गरे ।
स्थापनाकालमा सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नाम अन्तरसंस्थान कर्मचारी सङ्घ नेपाल थियो । सङ्गठनका अध्यक्ष कृष्णराम श्रेष्ठले पुराना र वर्तमान नेतृत्वबीच अनुभव आदानप्रदान र भेटघाटका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सङ्गठनमा सरकार मातहतमा रहेका विभिन्न २७ सार्वजनिक संस्थानका कर्मचारी युनियन आबद्ध छन् ।