काठमाण्डु , १ जेठ – गौतम बुद्घको २५५८ औं जन्मजयन्तीको अवसरमा ‘बुद्घ नेपालमा जन्मेका हुन्’ नामक अभियानअन्तर्गत सङ्कलित १० लाख हस्ताक्षर न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा बुधबार बुझाइयो ।
राष्ट्रसङ्घको प्रक्रियाअनुरुप सङ्कलित हस्ताक्षर प्रथम चरणमा राष्ट्रसङ्घमै दर्ता गरी महासचिव बान कि मुनको नाममा सम्बोधन गरी पठाइएको थियो ।
महासचिव मूनको हातमा सङ्कलित हस्ताक्षर हस्तान्तरण गर्न यो प्रक्रिया अपनाइएको हो । अभियानका आयोजक एड्मायर नेपालका अनुसार एक भव्य समारोहबीच सङ्कलित उक्त १० लाख हस्ताक्षर हस्तान्तरण गरिएको थियो ।
यो अभियान एड्मायर नेपाल, वेलकम इभेन्ट, न्यूज २४ टेलिभिजन च्यानल तथा सञ्चारकर्मी रवी लामिछानेको संयुक्त प्रयासमा थालनी भएको थियो ।
वेलकम इभेन्ट तथा न्यूज २४ टेलिभिजन च्यानलको प्रतिनिधित्व एड्मायर नेपालका प्रमुख सल्लाहकार निर्मलराज पौडेलले नेपालबाट सङ्कलित उक्त १० लाख हस्ताक्षर अमेरिका पु¥याएका थिए ।
उक्त अवसरमा रिजवुड नेप्लिज सोसाइटीद्वारा यस अभियानका अभियन्ताहरूलाई सम्मान गरिएको थियो ।
यो अभियानअन्तर्गत नै २०६९ चैत २९ देखि ३१ सम्म सञ्चारकर्मी लामिछानेले “गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने नाराका साथ म्याराथन टक शो (६२ घण्टा १२ मिनेट लामो) सञ्चालन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा विश्व कीर्तिमान कायम गरी गौतम बुद्ध नेपालमा जन्मेका हुन् तथ्यपूर्ण सन्देश सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।