दुर्घटनामा एक विदेशीसहित तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १ गते १३:५६ मा प्रकाशित

हेटौँडा, १ जेठ – हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना२ज ४१६७ नम्बरको सुमो जिप भिमफेदी–कुलेखानी सडकखण्डको देउरालीमा आज अपराह्न दुर्घटना हुँदा जिपमा सवार एक स्वीस नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुने स्वीस नागरिक सामुयल एरिक हुन् ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का स्वीस नागरिक कार्ल हाकानलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

घाइते जिप चालक हेटौँडा नगरपालिका–६ का शिवराज श्रेष्ठ र काठमाडाँै जोरपाटीका ऋतुराज गिरीको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, यस जिल्लाको आग्रा गविसमा आज भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

मकवानपुरको डाँडाबासबाट आग्रा जाँदै गरेको ना १ ख ७८६३ नम्बरको ट्रक घलेपाखामा दुर्घटना हुँदा आग्रा–६ का १७ वर्षीय तेजबहादुर गोले र टिस्टुङ–५ का २० वर्षीय वीरबहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us