
काठमाण्डु, १ जेठ – निर्वाचन आयोगले संविधानसभा सदस्य उपनिर्वाचनका लागि विभिन्न चार निर्वाचन क्षेत्रमा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाण्डु –२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा आगामी असार ८ गते हुने उपनिर्वाचनका लागि आयोगले आज सो कार्यक्रम सार्वजनिक गरेको हो । ती निर्वाचन क्षेत्रमा विद्युतीय मतदान उपकरणद्वारा मतदान हुनेछ । ती सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिसकिएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिअनुसार यही जेठ ११ गते उम्मेदवारको मनोनयन दर्ता, १२ गते उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन, १४ गत मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारको नाम फिर्ता लिने, १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । ती सबै कार्यक्रम समय बिहान १० देखि ५ बजेसम्म तोकिएको छ ।
मतदान असार ८ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ । गत मङ्सिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा दुई क्षेत्रबाट विजयी भएका सांसदहरुले एक क्षेत्र छोडेपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले काठमाण्डु –२, नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले चितवन–४, नेकपा (एमाले)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमले बर्दिया–१ र नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली–६ छोडेका थिए ।