
काठमाण्डु, ३१ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीच पार्टीभित्र देखिएको समस्यमा समाधानको प्रयास स्वरुप छलफल भएको छ ।
विराटनगर राष्ट्रिय सम्मेलन नसकिंदै पारिवारिक चीन भ्रमणमा गएका भट्टराई स्वदेश फर्किएलगत्तै दुई नेताबीच छलफल भएको हो । आफ्नै निवास लाजिम्पाटमा बिहान करिब डेढ घण्टा भएको छलफलमा प्रचण्डले केन्द्रीय समितिमा नबस्ने निर्णयबाट पछि हट्न भट्टराईलाई आग्रह गरेका थिए । उनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति विस्तार गर्दा छुटेका भनिएका भट्टराई पक्षका व्यक्तिहरुलाई समेट्ने बताएको बुझिएको छ ।
जवाफमा भट्टराईले पार्टीभित्र फरक मतलाई सम्मान गर्ने संस्कृति बसाउनुपर्ने, युद्धकालीन पार्टी संरचनामा परिवर्तन गर्नुपर्ने, संविधानसभामार्फत नयाँ संविधान जारी गरी समाजवादी क्रान्तितर्फ अघि बढ्नुपर्ने आफूहरुका मागमा सहमति भए मात्र केन्द्रीय समितिमा फर्कन सकिने बताएका छन् ।
विराटनगरमा गत वैशाख १८ देखि २३ गतेसम्म भएको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य चयन भएका भट्टराई पक्षका १५ जनाले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि माओवादी नयाँ विवादमा फसेको छ । विवाद मिलाउने प्रयासमा प्रचण्डले यसअघि भट्टराई पक्षका नेताहरु टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलसँग पनि छलफल गरेका थिए ।