
काठमाण्डु, ३० वैशाख– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि नोकरशाहीको आरोप लगाएका छन् ।
चीन भ्रमणबाट फर्कने क्रममा मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको बताए । ‘हाम्रो पार्टीमा नोकरशाही प्रवृत्ति हाबी भएको छ’,भट्टराईले भने, ‘ संगठन कब्जा गरेर आफू अनुलकुलको जलप लगाउने प्रवृतिको मैले विरोध गरेको हुँ ।’
उनले पार्टीभित्र फरक मत राख्नेलाई स्थान नदिने र उप्रति असहिष्णु व्यवहार हुने गरेकाले त्यसलाई सच्याउनुपर्ने बताए । भट्टराईले युद्धकालीन पार्टी संरचनाले कहीं पनि नपुगिने भन्दै बदलिएकाे समयअनुसार संगठनको ढाँचामा परिवर्तन जरुरी रहेको औंल्याए ।
भट्टराईले संगठन नयाँ बनाउन मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकता गर्नुपर्ने उल्लेख गरे । यसअघि विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराईले कार्यदिशा स्पष्ट नगरी वैद्यसँग एकता गर्न नहुने विचार राखेका थिए । चीन भ्रमणबाट फर्केसँगै उनले एकता सम्बन्धमा फरक अभिव्यक्ति दिएका छन् । भट्टराईले पूरानो कार्यदिशाले मुलुकको नेतृत्व गर्न नसकिने भएकाले आफूले नयाँ कार्यदिशाको बसह थालेको उल्लेख गरे ।
आफू र प्रचण्डबीचको झगडाका कारण पार्टी एकताको कुरा अगाडि सारिएको भन्ने हल्लामा सत्यता नरहेको बताए । ‘प्रचण्ड र बाबुरामबीच झगडा पर्न थालेकाले वैद्यसँग एकता भनिएको होइन’, भट्टराईले भने, ‘संगठनको रुपान्तरणका लागि एकता जरुरी भएको हो ।’ उनले वैद्य र नारायणकाजी श्रेष्ठसँग आफूले गरेको धोवीघाट गठबन्धन अपवित्र नभई पवित्र भएको दाबी गरे ।
नेता भट्टराईले आफूले अर्को पार्टी गठन नगर्ने भन्दै यही पार्टीलाई नयाँ शक्तिमा विकास गर्न चाहेको स्पष्ट गरे । आफ्नो भ्रमण अनौपचारिक र पारिवारिक भएकाले त्यसलाई बढी महत्व नदिन सञ्चारकर्मीलाई उनले आग्रह गरे । तर भ्रमणका क्रममा चिनियाँ नेतृत्वसँग छलफल भएको र चीनले गरेको विकासबाट नेपालले सिक्नुपर्ने भट्टराईले बताए ।
भट्टराई बुधबार धर्मपत्नी एवम् एमाओवादी नेतृ हिसिला यमी, छोरी मानुषी र पिता भोजप्रसा साथ पारिवारिक भ्रमणका लागि कैलाश मानसरोबर जाने भन्दै ल्हासा प्रस्थान गरेका थिए ।
भट्टराई विराटनगरमा भएको पार्टीको राष्ट्िरय सम्मेलन समापन नहुँदै काठमाण्डु आएर चीन गएका थिए ।