
चितवन, ३० वैशाख– गर्मी बढेसँगै चितवनका अस्पतालमा बिरामीको चाप बढेको छ । भरतपुर अस्पतालको बहिरङ्ग विभागमा २५ प्रतिशतले बिरामीको सङ्ख्या वृद्धि भएको हो ।
चितवनको तापक्रमसमेत ४० डिग्रीभन्दा माथि पुगेको छ । अस्पतालका चिकित्सक भोजराज अधिकारीका अनुसार अहिले बहिरङ्ग सेवामा २५ र अस्पतालमै भर्ना हुने सङ्ख्यामा १० प्रतिशतले बढेको छ । मुख्यगरी गत वर्ष श्वासप्रश्वासबाट हुने सङ्क्रमण बढी देखिएकामा यस वर्ष भने पेट फुल्ने, पखाला लाग्ने, ज्यान दुख्नेलगायत समस्या देखिएको अधिकारीले बताए ।
एक्कासि ज्वरो १०४ पुग्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, होसमा परिवर्तन हुनेलगायत सङ्केत देखिएमा तुरुन्त चिकित्कसको सल्लाह लिनसमेत उनले सुझाव दिए ।
मुख्यगरी सामूहिक भोजन, खाना आदानप्रदान र पार्टीहरूमा विशेष ख्याल गर्नुपर्ने, फरक खालको सङ्क्रमण सागसँगै भाइरल ज्वरोको प्रकोपसमेत देखिएको चिकित्सकले बताएका छन् ।
यो समयमा सफा पानी प्रशस्त पिउन, घाममा धेरै नहिंड्न र हिंडे पनि सावधानी अपनाउन झोलिलो पदार्थ लिन चिकित्सकले सुझाव दिएका छन् ।