
महोत्तरी, २९ वैशाख – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एक गोठमा लागेको भीषण आगलागीमा परी गएराति १० लाखभन्दा बढीको क्षति भएको छ ।
जलेश्वर नगरपालिका–५ अवस्थित कन्हैया मण्डलको गाई गौशालामा गएराति करिब २ बजेको समयमा भएको भीषण आगलागीमा परी गौशालाभित्र रहेका एउटा गाई र एउटा बाछो गरी दुई चौपाया, ९० किलो घिउ, दुई लाख नगद र अन्नपाती, लुगाफाटा, भाँडाकँुडा र फर्निचर तथा गौशाला घर गरी करिब रु आठ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सोही आगलागीमा परी गौशालासँगै टाँसिएर रहेको जलेश्वर–५ बस्ने कमलेश साहको कमलेश मोटरसाइकल वर्कसप पनि पूर्ण रुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी मोटरसाइकल वर्कसपभित्र मर्मतका लागि रहेको दुईवटा मोटरसाइकल, मोटर थान एक र अन्य मोटरसाइकल मर्मतका सामग्रीहरु गरी दुई लाखभन्दा बढीको क्षति भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताएका छन् ।
लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किन गई गौशालामा भीषण आगलागी भएको हो । गौशालाभित्र रहेको १८ वटा गाईमध्ये १६ वटा डोरी तोडेर भाग्न सफल भएको हो भने दुईवटा जलेर मरेको छ ।
यता जलेश्वर नगरपालिकाभित्र रहेको एकमात्र बारुणयन्त्र गएराति जलेश्वरबाहिर रहेकाले आगलागी नियन्त्रणमा लिन नसकी गौशाला र मोटरसाइकल वर्कसप पूर्ण रुपले जलेर खरानी भएको स्थानीयवासीको भनाइ छ ।