
काठमाण्डु– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझी श्रीमती सीमासँग सँगै बस्न थालेका छन् ।
उनीहरु विगत दुई वर्षयता अलग बस्दै आएका थिए । रायमाझी शनिबारदेखि बानेश्वर हाइटस्थित निवासमा श्रीमतीका साथ बस्न थालेको स्रोतले काठमाण्डु टुडेलाई बतायो ।
पाल्पा घर भई बुटलवतिर घरजग्गा व्यवसाय गर्दै आएका राम कार्की नाम गरेका वाइसीएल जिल्ला सदस्यलाई श्रीमान कायम गरी पाउँ भन्दै सीमाले अदालतमा मुद्धा हालेपछि रायमाझी पदम्पत्तिबीच झगडा सुरु भएको थियो ।
परपुरुषलाई श्रीमान कायम गर्न माग गर्दै अदालत पुगेको भन्दै रायमाझीले सीमालाई छाडेका थिए । त्यतिबेला रायमाझी बाबुराम भट्टराई नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माणमन्त्री थिए । केही समयअघि बिरामी भएर अस्पताल भर्ना भएकी सीमालाई भेट्न रायमाझी फलफूल लिएर अस्पताल पुगेका थिए ।
रायमाझीले छाडेपछि सीमामा डिप्रेशनको समस्या देखिएको थियो । त्यही बेलादेखि रायमाझी दम्पत्तिबीच सम्बन्ध सुधार आएको उनी निकट एक नेताले बताए ।
अर्घाखाँची अर्घाका स्थायी बासिन्दा रायमाझीले विद्यार्थी नेता रहेका बेला ०४२/०४३ सालतिर भूमिगत कालमा भारतमा सीमासँग जनवादी विवाह गरेका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् । श्रीमान श्रीमतीबीचको सम्बन्धमा दरार आए पनि उनीहरुले कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका थिएनन् ।
श्रीमानले छोडे पनि उनले एकीकृत माओवादी भने छाडेकी थिइनन् । एमाओवादीकी पूर्वराज्य समिति सदस्य उनी विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनमा भने प्रतिनिधि भइनन् ।