
काठमाण्डु, २७ वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन ठूला दलबीचको भागबण्डाको राजनीतिले मुलुक संकटमा फसेको आरोप लगाएका छन् ।
राप्रपा नेपाल काठमाण्डु क्षेत्र नम्बर–५ को अधिवेशनको शनिबार राजधानीमा उदघाटन गर्दै थापाले तीन दलीय भागबन्डाका कारण मुलुक सङ्कटको चक्रब्यूहमा फसेको बताए ।
‘ठूला दल आफूसँग दुई तिहाइ मत छ र जे पनि निर्णय गर्न सक्छु भन्ने दम्भ बोकेर अघि बढेका छन्’, थापाले भने, ‘यसले मुलुकलाई संकटको चक्रब्यूहमा धकेलेको छ ।’
संविधानसभा निर्वाचनमा कुनै एक दल वा पार्टीको एजेन्डालाई जनताले अनुमोदन नगरेकाले अब बन्ने संविधानमा सबै दलको विचारलाई सम्बोधन हुनुपर्ने उनको भनाइ थियो । ठूला दलको हैसियतमा सबैलाई समेटेर जाने जिम्मेवारी काँग्रेस र एमालेको भए पनि उनीहरुमा घमण्ड रहेको टिप्पणी थापाले गरे ।