काठमाण्डु– अञ्जु पन्त, पछिल्लो एक दशक सुगम संगीतमा सफल र चर्चित गायिकामा दरिएको नाम हो ।
अञ्जुले धेरै गीतकार र संगीतकारका गीतमा स्वर दिएकी छन् । तर उनको आफ्नै एल्मब ननिक्लेको वर्षौं भयो । कुनै जमाना थियो, व्यवसायिक गायक र गायिकाले आफ्नो नामको एल्बम निकाल्ने गर्थे । तर अञ्जु पन्त जस्तै गायनमा धेरै सफल भएका व्यवसायिक कलाकारले समेत निजी एल्बम निकाल्न सकेका छैनन् ।
आफ्नै एल्वम निकालेमा म्यूजिक बजारलाई यसले कस्तो सहयोग पुग्छ त ? संगीतकार तथा म्यूजिक संयोजक हेमन्त शिशिर भन्छन, ‘चलेका गायक गायिकाले आफ्नै गीत निकालेमा बजारको महत्व अझ बुझ्ने छन् ।’शिशिरका अनुसार अञ्जु पन्त, दीपक लिम्बूलगायतले गीत निकालेमा अरुलाई पनि हौंसला बढ्छ ।
चलेका धेरैजसो कलाकारले अहिले कम्पनी सञ्चालक, गीतकार र संगीतकारले लगानी गरेका गीत मात्रै गाइरहेका छन् । यसको साटो उनीहरु गीत रेकर्ड गर्दा प्राप्त हुने रकम र देशविदेशका मेला महोत्सवमा गाएर हुने कमाइमै सन्तुष्ट छन् ।
यसले गीतसंगितको बजार मुर्झाएको छ । कलाकार जति मेलामहोत्सवमै रमाए भन्छन् तिर्सना म्युजिकका सञ्चालक बावुराम बोहरा । सुगम संगीतका अञ्जु पन्त, दीपक लिम्बू, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, रुपक डोटेल र लोकगीतका राजु परियार, कुलेन्द्र विक, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बीसी, रामजी खाँड मुना थापालगायतका व्यवसायिक कलाकारको नाममा गीत निस्कन छोडेको धेरै भयो ।
संगीतकार श्रीकृष्ण बम मल्ल भन्छन् ‘उनीहरुले आफ्ना गीत रेकर्ड नगर्दा संगीत बजारमा विविधता देखिएन् ।’ गायक गायिकाले गीत निकाल्ने हो भने माया पिरती मात्रै हैन देशभक्तिका गीतमा समेत काम गर्न पाइने तर्क गर्छन् बम मल्ल ।
अहिले सांगीतिक बजारमा सबैभन्दा धेरै नाम दाम कमाई पनि गाउनेकै छ । त्यसैले गीत रेकर्ड गर्नलाई आर्थिक समस्या समेत हुँदैन उनीहरुलाई । उनीहरुका नामका गीतसंगीत बजारमा निस्केमा गीतसंगीतको गरिमा निक्कै माथि जाने आशा व्यवसायीले गरेका छन् । तर उनीहरु नै गीत निकाल्दैनन् ।
भाडामा गाएका गीतले मात्रै नाम चलेका कलाकारको इतिहास नबन्ने बताउँछन् संकलक शिव हमाल । तर राजेश पायल राई, हेमन्त शर्मा, प्रमोद खरेललगायतले भने निरन्तर गीत निकालिरहेका छन् ।