चुरेबाट गिट्टी बालुवा चोरी निकासी रोक्न माग

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते ४:१८ मा प्रकाशित

कावासोती, २७ वैशाख– नवलपरासीको चुरे पहाडबाट बग्ने खजुराखोलाबाट ढुंगा, गिट्टी, बालुवालगायत खोलाजन्य सामग्री अनियन्त्रितरुपमा चोरी निकासी बढेको भन्दै स्थानीयले रोक्न माग गरेका छन् ।
विभिन्न संघसंस्थाका नाममा खोलाबाट अनियन्त्रित रुपमा नदीजन्य वस्तुको चोरी निकासी भइरहेकाले त्यसलाई रोक्न स्थानीयवासीले सरोकारवालासाग माग गरेका हुन् ।

स्थानीय आमा समूह, क्लबलगायतको नामबाट भवन निर्माणका लागि भन्दै प्रहरीको मिलेमतोमा खोलाबाट अनियन्त्रितरुपमा ढुङ्गा, बालुवा र गिट्टीको चोरी निकासी हुन थालेको स्थानीयको भनाइ छ । खोलाबाट दिन प्रतिदिन चोरी निकासी बढ्न थालेको भन्दै गाउालेले नियन्त्रणका लागि जिल्ला विकास समिति, प्रहरी र प्रशासनसँग माग गरेका हुन् ।

चोरी निकासी नियन्त्रण बढ्दै गएको भन्दै उजुरी आएपछि नियन्त्रण गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको स्थानीय विकास अधिकारी रामुराज कडरियाले बताए ।
नदीजन्य वस्तु निकाल्दा वर्षायाममा गाउँ डुवानमा परेको भन्दै स्थानीयवासीले ठेक्का नलगाउन अनुरोध गरेपछि गत वर्षदेखि सो खोलासँगै तीनवटा खोलामा जिल्ला विकास समितिले ठेक्का लगाउन रोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us