
काठमाण्डु, २३ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले विकास निर्माणका काममा वाधा अवरोध नगर्न आग्रह गरेका छन् ।
कर्णाली जलाधार संरक्षण समाजका प्रतिनिधिमण्डलसँग मंगलबार सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा कोइरालाले मुलुकका विकास निर्माण परियोजनामा दल र सरकारपिच्छे फरक–फरक विचार र अवरोध सिर्जना गरिएका कारण विकास निर्माणकार्य सन्तोषजनक रुपमा अघि बढ्न नसकेको बताए ।
‘सरकार र दलहरुको विकास निर्माणबारेको धारणा एउटै हुनुपर्छ’, कोइरालाले भने, ‘एउटा सरकारले गरेका राम्रा कामको अर्काे सरकारले निरन्तरता नदिने परम्पराले ठूला परियोजना अलपत्र परेर मुलुकको विकासले गति लिन सकेको छैन’, उनले भने ।
जलविद्युत उत्पादन र प्रयोगमा वृद्धि नगर्ने हो भने मुलुक अघि बढ्न नसक्ने उनको भनाइ छ । विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेकाले उनीहरुलाई लगानीको वातावरण बनाउन शान्ति र स्थायित्वका लागि सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।
समाजका अध्यक्ष लोकबहादुर रावतले कर्णाली जलाधार क्षेत्रमा पर्ने माथिल्लो कर्णाली परियोजना सम्पूर्ण रुपले नेपाल र नेपालीको हितमा नरहेको बताए । नेकपा–माओवादीका नेता धर्मेन्द्र बाँस्तोलाले परियोजनाबाट उत्पादित विद्युत नेपालले नै प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए ।