
काठमाण्डु, १८ वैशाख– मेरो नाम वीरबहादुर । नेपालका लागि इजरेली राजदूत हनान गोडरले जोक गरेका होइनन्, बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुअघि आफ्नो परिचय दिँदा हल भने हाँसोले गुञ्जियो । ‘नेपाल आएपछि नेपाली नाम राखें, नेपाली भाषा सिकें, नेपाली भाषामै हनानले आफ्नो नेपाल माया दर्शाएपछि भने स्रोता–दीर्घामा सन्नाटा छायो, सबै राजदूतका गुनिला उपदेश सुन्न तयार भए ।
सधैंजसो नेपालमा कृषि क्षेत्रको विकासबारे महत्वपूर्ण सुझाव दिंदै आएका उनले बुधबार पनि त्यो क्रम टुटाएनन् । कृषिमा नेपालमा आधिकतम सम्भावना रहेको भन्दै उनले यस क्षेत्रमा आमूल परिवर्तनका लागि तत्काल कदम चाल्न सुझाए ।
नेपालमा कुटनीतिज्ञ भएर आउनेबित्तिकै यहाँको कृषि क्षेत्रप्रति बढी चासो राख्न थालेका हनानले गलत्तै नेपाली भाषा सिके । सार्वजनिक कार्यक्रममा उनी आधा नेपाली, आधा अंग्रेजी बोल्दै मन्तव्य सुरु गर्छन । नेपालीत्वबोध गराउँदै आफूलाई म ‘वीरबहादुर’ भनेर चिनारी दिन्छन् ।
‘नेपालमा करिब ७० प्रतिशत किसान कृषि पेशामा संलग्न छन् । यति ठूलो जनसंख्या कृषिमा आवद्ध हुँदा पनि नेपाल खाद्यान्नमा परनिर्भर छ’, हनानले कार्यक्रममा आफ्नो देशको उदाहरण दिँदै भने, ‘इजरायलमा ३ प्रतिशत जनसंख्या मात्र कृषिमा छन्, त्यसबाट ९७ प्रतिशत जनसंख्यालाई खाद्यान्न आपूर्ति गरी देशबाहिरसमेत निर्यात गरिरहेका छौं ।’
ओ हो कृषि विकासको कस्तो नमुना । स्रोतालाई जिब्रो टोक्न बाध्य पार्दै उनले सुझाए, ‘यति ठूलो संख्या कृषिमा लाग्नुपर्दैन, उत्पादकत्व बढाए नेपालमा यो क्षेत्रको सम्भावना प्रचुर छ । कृषिमा रहेको जनसंख्या कम गरेर उत्पादकत्व बढाउन आवशयक छ ।’
राजधानीमा बुधबार आयोजित नेपालका साना किसान परिवारका ३ सय ६० युवा कृषि प्रशिक्षणका लागि इजरालय लैजाने सम्बन्धी अन्तरक्रियामा राजदूत हनानले आधुनिक कृषि प्रणालीले नेपाललाई आत्मनिर्भर बनाउने बताए ।
उनले नेपालका किसानलाई खेती गर्न र मल हाल्न समेत नआउने बताए । नेपालको माटो कृषिका लागि आफ्नो देशको भन्दा कमजोर नरहेको भन्दै उनले इजरायलमा एउटा बोटमा ३० केजी गोलभेंडा फल्ने गरेकामा खेती गर्न नजानेकै कारण नेपालमा भने ३ केजी फल्ने गरेको बताए । यससम्बन्धी समाचार अाजको नागिरक दैनिकमा छापिएकाे छ ।