
काठमाण्डु, १७ वैशाख – नेपाल–भारत भन्सार प्रशासनका कार्यलाई थप व्यवस्थित बनाई व्यापार सहजीकरण प्रक्रिया प्रभावकारी बनाउन दुई देशका भन्सार अधिकारीबीच सहमति भएको छ ।
यही सोमबार र मङ्गलबार यहाँ सम्पन्न नेपाल र भारत भन्सार सहयोगसम्बन्धी सत्रौँ महानिर्देशकस्तरीय बैठकले व्यापार सहजीकरण, सीमा क्षेत्रमा हुने अवैध निकासी पैठारीको नियन्त्रण, पूर्वाधार विकासलगायतका विषयमा सहमति गरेको हो ।
भन्सार विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले रक्सौलबाट निकासी पैठारी हुने कार्गोको जाँचपास प्रक्रियालाई शीघ्र र प्रभावकारी बनाउन रक्सौल भन्सारमा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म (सातै दिन) कार्गो जाँचपास सेवा सञ्चालन गर्ने सहमति भएको जानकारी दिएका छन् ।
उनले मेची–पानीट्याङ्की भन्सार विन्दुको काम कारबाहीलाई थप व्यवस्थित गराउन एक लाख भारतीय रुपैयाँभन्दा बढी मूल्यका मालवस्तुको जाँचपास गर्ने प्रक्रियामा सहजता प्रदान गर्न सहायक आयुक्तले एक÷एक दिनको फरकमा सातामा कम्तीमा तीन दिन उपस्थित भएर सेवा प्रवाह गर्ने सहमति भएको बताए ।
कलकत्त हल्दियाबाट नेपालमा सामान आउन लामो समय लागेमा व्यवसायीले विलम्ब शुल्क तिर्नु परेकाले सम्बन्धित निकायसँग समन्वय गरी सो शुल्क घटाउन भारत पक्ष सहमत भएको छ ।
त्यसैगरी नेपालमा आयात हुने कार्गोलाई थप सुविधा दिन र नेपालगन्जबाट निर्यात हुने हर्बल उत्पादनमा लाग्ने गरेको गैर भन्सार अवरोधलाई हटाउन पनि भारत सरकारले आफ्ना निकायसँग समन्वय गर्ने जनाइएको छ ।
नेपालका भन्सार प्रशासनमा कार्यरत जनशक्तिको भन्सार मूल्याङ्कन, वर्गीकरण, जाँचपासपछिको परीक्षण र जोखिम व्यवस्थापनका क्षेत्रमा क्षमता अभिवृद्धि कार्यक्रमका लागि भारतले सहयोग गर्ने जनाएको छ ।
भारत निर्यात हुने तयारी पोसाक, पित्तल र तामाका भाँडालगायतका वस्तुमा लाग्ने अतिरिक्त शुल्क हटाउन भारतीय पक्ष सहमत भएको छ । सहमतिअनुसार सिमानामा हुन सक्ने अवैध व्यापार नियन्त्रण गर्न दुवै पक्षले नियमित निगरानी बढाउने छ ।
बैंक, गुणस्तर परीक्षण कार्यालयलगायत भैतिक पूर्वाधारको विकासका लागि नेपालगन्ज र भैरहवामा एकीकृत जाँच चौकी बनाउन आवश्यकरुपमा सम्बोधन गर्ने र जटही (जनकपुर) र महेशपुर–ठुटीबारी नाका सञ्चालनमा विशेष ध्यान दिन नेपालको आग्रहमा भारत सहमत भएको जनाइएको छ ।
नेपाली सवारी साधनलाई भारतमा अस्थायी पैठारी गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयसँग छलफल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । अन्तर्राष्ट्रिय मेला र प्रदर्शनीमा जाने नेपालका उत्पादनको प्रवेशलाई सहज बनाउन भारतको राजस्व विभाग र वाणिज्य विभागमार्फत पहल गर्ने उल्लेख गरिएको छ ।
बैठकमा नेपालका तर्फबाट विभागका महानिर्देशक अचार्यको संयोजकत्वमा नेपालका मुख्य भन्सार कार्यालयका प्रमुख, परराष्ट्र, अर्थ, कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला र कृषि विकास मन्त्रालयका प्रतिनिधि गरी २२ जनाको सहभागी थियो भने भारतीय पक्षको तर्फबाट केन्द्रीय अन्तःशुल्क तथा सीमा शुल्क बोर्डका सदस्य शोभा एल चारीको नेतृत्वमा आठ जनाको सहभागिता थियो ।
हरेक वर्ष आलोपालो गरी नेपाल र भारतमा हुँदै आएको उक्त बैठक आगामी वर्ष भारतमा हुनेछ ।